ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङका ३१ बर्षीय चन्द्र बहादुर बस्नेत १ थान कटुवा पेस्तोल र बिष्फोटक पदार्थ सहित पक्राउ परेका छन् । पक्राउ परेका बस्नेतलाई आईतबार जिल्ला प्रहरी कार्यालय ताप्लेज्ङमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरीएको छ ।

बस्नेतको घरमा हतियार तथा बिष्फोटक पदार्थ समेत रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले बस्नेतको घर र गोठ खानतलासी गर्ने क्रममा १ थान कटुवा पेस्तोल, ईलेक्ट्रिक डेटोनेटर ७ थान, नन ईलेक्ट्रिक डेटोनेटर १७ थान, टाईम सेटिङ डिभाईस जस्तो देखिने सेतो वस्तु ३ थान, रिमोट कन्ट्रोल सेट ३ थान, ब्याट्रि सेट २ थान बरामद गरेको छ ।

यस्तै जिलेटिन ४५ थान, सेफ्टी फ्युज वायर साँढे ३ फिट तथा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समुहसँग सम्वधीत विभिन्न प्रकारका दस्तावेजहरु समेत बरामद गरेको छ । उनको साथवाट चन्दा उठाउनका लागि प्रयोग गरिएको रसिद समेत फेला परेको छ ।

हतियार तथा बिष्फोटक पदार्थ सहित पक्राउ परेका बस्नेतको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी ज्ञानेन्द्र फुँयालले जानकारी दिए । पक्राउ परेका बस्नेत नेपाल कम्यूनिष्ट पार्टी विप्लव समूह सम्वद्ध युवा परिषदमा सक्रिय तथा योङ रेड फोर्स ताप्लेजुङका जिल्ला सहसचिवको जिम्मेवारीमा रहेको समेत बुझिएको छ ।