धरान / पित्तथैलीमा पथरिया भएपछि सहन नसकेर मोरङको उर्लाबारीबाट शल्यक्रियाकालागि शुक्रकुमार लिम्बु वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्जिकल ओपिडीमा पुगे । प्रारम्भिक परीक्षण पछि चिकित्सकले सोधे, ‘पेइङबाट उपचार गर्ने कि जनरलबाट ?’ गा“उघरमा हुर्केका लिम्बुले नबुझेर सोधे, ‘डाक्टर साव यो पेइङबाट गर्दा के हुने जनरलबाट गर्दा के हुने ?’ जवाफमा डाक्टले भने, ‘पेइङबाट गर्ने हो भने आजको भोलि उपचार हुन्छ । जनरलबाट गर्ने हो भने तीन महिना पछिमात्र उपचार हुन्छ ।’
पित्तथैलीमा रहेको २८ एमएमको ढुङ्गाको कारण सहन नसकेर पटक पटक वेहोस हुदै आएका ३६ बर्षीय लिम्बुले चिकित्सकलाई भनिहाले, ‘किन पर्खिनु तीन महिना ? आजको भोलि उपचार हुने पेइङबाट गरिदिनुस डाक्टर साव ।’ सर्जिकल ओपिडीमा लिम्बुको स्वास्थ्य जांच गरेका चिकित्सकले शल्यक्रिया तत्काल प्रक्रिया सुरु गरे । बेडभर्ना पनि गरिहाले । लिम्बुका कुुरुवालाई चिकित्सकले विल तिर्नका लागि काउण्टरमा पठाए । जव शान्ति लिम्बु काउण्टरमा पुगेर पेइङबाट पित्त थैलीको शल्यक्रियाको चार्ज शुल्क सुनिन् छाङ्बाट खसिन् । शल्यक्रियाको शुल्क मात्र उनले तिर्नु पर्ने विल थियो नगद ३१ हजार रुपैया । अरु ल्यावटेस्टको शुल्क तिदै ७ हजार सकिसकेको थियो । यो गत साताको घट्ना हो ।
यहा विरामी र चिकित्सक वीचको संवादले शल्यक्रिया शुल्कमा फरक आएको भए पनि गाउँबाट आएको विरामी लिम्बुलाई पेइङ र जनरल भन्ने शव्द थाहा नपाउदा दोव्वर शुल्क तिर्नु पर्ने बाध्यता आइपरेको थियो । शल्यक्रियाका लागि सवै तयारी भइसकेकाले दोव्वर तिरेर भए पनि उपचार गर्नु उनको बाध्यता थियो । लिम्बुले भने, ‘पेट दुखेको बेला डाक्टरले के के भने राम्ररी बुझिन । आजको भोलि नै उपचार हुने नै रोजें । तर त्यो त दोव्वर शुल्क लाग्दो रहेछ भनेर पछिमात्र थाहा भयो ।’ उनका कुरुवा शान्तिले दोव्वर तिर्दा आजको भोलि हुने जनरलमा प्रतिष्ठानले तोकेको शुल्कमात्र तिर्दा तीन महिना पर्खिनु पर्ने यो कस्तो चलन हो मैले बुझिन ।’
उनले यस्तो त मालपोत, नापी वा अरु सरकारी कार्यालयका कर्मचारीसंग डिल गर्दा मात्र घुस दिए चाडै काम हुने र नदिन महिनौ पर्खिनु पर्ने चलन रहेको बताइन् । ओपिडी प्रतिष्ठान कै, चिकित्सक प्रतिष्ठानकै, अप्रेशन थिएटर प्रतिष्ठानकै भएपनि पित्त थैलीको अप्रेशनमा १५ हजार रुपैयामात्र तिर्दा तीनमहिना पर्खिनु पर्ने र त्यसको दोव्वर तिर्दा आजको भोलि उपचार हुने प्रतिष्ठानको निति बैधानिक घुस निति जस्तै भएको बताइन् ।
उनको तर्क थियो, ‘पैसा नहुने, थोरैमात्र हुनेको पालो प्रतिष्ठानमा नआउने रहेछ । पैसा हुनेको मात्र चाडो पालो आउने रहेछ । विरामीले देवता ठानेका डाक्टरहरु पनि आफ्नो मानवीय कर्तव्य र संवेदना विर्सेर यति धेरै पैसामुखी हुनु गरीवका लागि धक्का भएको महसुस गर्न बाध्य भएं ।’ ओपिडीमा आएका विरामीको शल्यक्रिया वा थप अन्य उपचार गर्न पेइङमार्फतको रकम करिव आधा प्रतिशत चिकित्सक र स्वास्थ्यकर्मीले दामासाहीले बाड्ने गरेका छन् । प्रतिष्ठानले तलव सुविधा, क्वाटर, भत्ता दिएर विरामीको सेवा गर्न जागिर दिए पनि पेइङ र जनरल छुट्याउदा गाइ गोरु, कुखुरा, बाख्रा वेचेर उपचार गर्न आएका विरामीको अवस्थालाई प्रतिष्ठान र चिकित्सकले नजर अन्दाज गरी पैसामुखी भएको आरोप लिम्बुले लगाए ।
प्रतिष्ठानले दक्ष चिकित्सकलाई रोक्न पेइङ निति अपनाएको छ । पेइङमा नबस्ने केही चिकित्सकले प्रतिष्ठान अप्रत्यक्षरुपमा चिकित्सकको कमाउ धन्दा गर्ने निजि नर्सिङ होममा परिणत भएको बताउन थालेका छन् । दैनिक तीन हजार बढी विरामी उपचार गर्न आउने प्रतिष्ठानमा चिकित्सकहरु को को विरामी पेइङबाट उपचार गर्न तयार छन् भन्ने तिरमात्र ध्यान दिने गरेका छन् । जनरलबाट उपचार गर्ने विरामीलाई अदालतले म्याद दिए जस्तै तारिख धाउन मात्र लगाउने गरेको धरान–१५ श्यामचोक बस्ने रिता तामाङले बताइन् । उनले भनिन्, ‘प्रतिष्ठानमा जनरलबाट शल्यक्रिया गर्न कतिपयलाई ६ महिना, भिडियो एक्सरे गर्न १५ दिनदेखि तीन महिना, त्यस्तै अन्य जटिल रोगको ल्याव टेस्टहरु गर्न महिनौं कुर्नु लगाउदै आएको छ । त्यतिन्जेलमा विरामीको मृत्यु भए प्रतिष्ठान र डाक्टरले क्षतिपुर्ती व्यहोर्छ ?’ उनले विरामीको चाप बढेर समयमै उपचार गर्न नसकेको भए जनशक्ति, र छिटो रिपोर्ट दिने आधुनिक मेडिकल उपकरण थप्न तिर ध्यान नदिएको आरोप लगाइन् ।
प्रतिष्ठानमा कतिपय चिकित्सकहरुले विमारीहरुलाई ‘छिटो पेइङबाट गरि हाल्नु नत्र खतरा हुन्छ’ भनेर त्रास देखाएर पेइङबाट अपरेसन, चेकजाँच खराउन बाध्य बनाउने गरेको सेवाग्राहीहरुले बताएका छन् ।
