धरान/ नेपाल इञ्जिनियर काउन्सिलले स्नातक तहको चार वर्षे इलेक्ट्रिकल इञ्जिनियरिङ फ्याकल्टीबाट पास आउट भएकालाई मान्यता नदिएपछि डिनको कार्यालयलाई समस्या समाधान गर्न विद्यार्थीहरूले दुई दिने अल्टिमेटम दिएका छन् । काउन्सिलले पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसबाट इलेक्ट्रिकल इञ्जिनियरिङ उत्तीर्ण गरेका दुई ब्याचका विद्यार्थीहरूलाई मान्यता नदिएपछि विद्यार्थीहरूले आफ्नो भविष्य अन्यौल भएको भन्दै डिनको कार्यालयलाई अल्टिमेटमार्फत् दबाव दिएका हुन् ।

इलेक्ट्रिकल इञ्जिनियरिङ समाजका अध्यक्ष नेत्रप्रकाश अर्यालले भने, ‘इञ्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालय र क्याम्पस प्रशासनको लापरबाहीले गर्दा दुई ब्याच पास आउट भइसक्दा पनि काउन्सिलमा दर्ता हुन नसक्दा बेरोजगार बन्ने स्थिति पैदा भएको छ ।’ समाजले बुधबार नै विज्ञप्तिसमेत जारी गरेर डिन कार्यालयलाई चेतावनी दिएको छ । धरानको पूर्वाञ्चल क्याम्पमा ०७१ सालमा इलेक्ट्रिकल फ्याकल्टी शुरु गर्दा काउन्सिलसँग समन्वय भएको थिएन । विद्यार्थीहरू धमाधम पास आउट भएर काउन्सिलमा दर्ता गर्न पुग्दा त्रिवि अन्तर्गतको इञ्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालयले अनुमति दिएर सञ्चालन भएको इलेक्ट्रिकल फ्याकल्टी र त्यहाँ अध्ययन गर्ने विद्यार्थीलाई ‘नचिन्ने’ जनाएपछि मात्र विवाद सतहमा आएको हो ।

क्याम्पसबाट चार वर्षे इलेक्ट्रिकल फ्याकल्टीबाट दुई ब्याच गरी ९६ जना पास आउट भइसकेका छन् । तर काउन्सिलमा दर्ता नै हुन नसकेपछि आफूहरूको भविष्य अन्यौलमा परेको भन्दै इञ्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालयलाई समस्या समाधान गर्न दुई दिने अल्टिमेटम दिएको किरण पन्तले बताए । उनले भने, ‘इलेक्ट्रिकल इञ्जिनियरिङ विद्यार्थी समाजले दिएको समयावधिभित्र आफ्ना माग सम्बोधन नभएमा जस्तोसुकै आन्दोलन गर्न बाध्य हुनेछौं ।’ समाजले दुई दिन अघिदेखि नै क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरेपछि पठन–पाठन ठप्प भएको छ ।

क्याम्पसमा विद्यार्थीहरूले दिनभर नारा जुलुस गर्दै क्याम्पस प्रमुखकै राजीनामा माग गर्न थालेका छन् । काठमाडाैँ पुगेका क्याम्पसका प्रमुख ओमप्रकाश ढकालले डिन कार्यालय, इञ्जिनियरिङ अध्ययन संस्थान र भौतिक तथा योजना मन्त्रालयमा पुगेर विद्यार्थी र क्याम्पसको समस्याबारे कुरा राखेको बताए । उनका अनुसार काउन्सिलमा फ्याकल्टी दर्ता हुनका लागि मन्त्रिपरिषद्ले पारित गर्नुपर्छ । क्याम्पसको फाइल भौतिक तथा योजना मन्त्रालयमा पुगेको जनाइएको छ ।