बिर्तामोड । अपाङगता भएका तथा असहाय बालबालिकाको हितमा समर्पित शिवंस स्मृति प्रतिष्ठानले १ सय ५० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको छ ।
झापाको कनकाई नगरपालिका–८, लक्ष्मीपुरमा रहेको हिमाली माध्यमिक बिद्यालयका २४, बिर्तामोड–२ रामचोकको मोहनमाया माध्यमिक बिद्यालयका २१ जना अपाङगता भएका र हिमालीकै १ सय ५ जना विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको हो ।

हिमाली माविमा एक कार्यक्रम गरी प्रतिष्ठानले उक्त सामग्री वितरण गरेको हो । जनही ७ सय ५० रुपैया मुल्यको स्कुल व्याग, कापी र नगद १ सय रुपैया विद्यार्थीलाई उपलव्ध गराईएको विद्यालयका प्रधानाध्यापक केशवप्रसाद ओझाले बताए ।

बालक शिवंसको २०७२ सालमा १० महिनाको हुँदा निधन भएको थियो । उनका मातापिता नविन र राधा बिमलीले आफ्ना छोराको स्मृतिमा शिवंस स्मृति प्रतिष्ठान स्थापना गरेका थिए । प्रतिष्ठानको कोषमा हाल ७ लाख रुपैया रहेको बताईएको छ । कोषको व्याजबाट हरेक बर्ष लक्षित बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिदै आएको छ ।

२०७१ साल फागुन २८ गते डेनमार्कमा जन्मिएर १० महिना सम्म विरामी परी उपचारकै क्रममा शिवंशको निधन भएको थियो । उनको निधनपछि हिमाली माध्यमिक विद्यालयमा छात्रवृत्ती कोष स्थापना गरेका हुन । हालसम्म कोषबाट ५ औं पटक यस्तो कार्यक्रम सम्पन्न गरिसकिएको पिता नविन विमलीले बताए ।

विमली बन्धु समाजका सल्लाहकार यामनाथ विमलीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, विशेष अतिथि कनकाई शिक्षा प्रमुख पिताम्बर गौतम, बिर्तामोड उद्योग बाणिज्य संघका उपाध्यक्ष पार्वता विमली, हिमाली माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष नेत्र नेपाल, चेम्बर अफ कमर्स बिर्तामोडका अध्यक्ष ओमकृष्ण विमली, लक्ष्मीपुर बजार व्यवस्थापन समिति अध्यक्ष टेकबहादुर बस्नेत, स्थानीय समाजसेवी गोपालप्रसाद चुडाल, युवराज चुडालको हातबाट शैक्षिक सामाग्री वितरण गरिएको थियो ।