धरान / झापाको बुद्धशान्ति गाउँपालिकास्थित गढीगाउँ उच्चमावि स्थापनाको ६० औं वर्षगाँठ अवसरमा पूर्व विद्यार्थीहरूले एक–एक लाख रुपैयाँको बेग्लाबेग्लै अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् ।
यसअघि विद्यालयको ०४८ सालका ब्याचले १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी विद्यालयलाई हस्तान्तरण गरिसकेका छन् ।

वर्षगाँठको अवसरमा विद्यालयका २०४९ देखि २०५२ सम्मका ब्याचले अक्षयकोष खडा गर्ने घोषणा गरेका हुन् । भूपू विद्यार्थी पुनर्मिलन समारोह पनि भएकाले विद्यालय र त्यहाँ अध्ययनरत विद्यार्थीहरूको शैक्षिक स्तरमा टेवा दिन अक्षयकोष स्थापना गर्ने घोषणा गरिएको हो । प्रत्येक चार ब्याचले कम्तिमा १ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निलमणि न्यौपानले बताए । अध्यक्ष न्यौपाने पनि ०५० को एसएलसी ब्याचका हुन् ।

गाउँपालिकाका उपाध्यक्ष मीरा भुर्तेल र शिक्षा शाखा प्रमुख कमलप्रसाद निरौलाको उपस्थितिमा आयोजित तीनदिने वर्षगाँठको अवसरमा भाषाविद् प्रा.डा. टङ्क न्यौपानेले विद्यालयलाई बालमैत्री बनाउनु पर्नेमा जोड दिए । उनले भने, ‘आधुनिक पुस्ताका बालबालिकाहरू हाइटेक प्रविधिअनुसार चल्न थालेका छन् । उनीहरूका हातमा मोबाइल, ट्वाइलेट हुन्छन् ।

अब शिक्षकले परम्परागत शैलीमा दिएको ज्ञान पूर्ण नहुने भएको छ । सूचना प्रविधिलाई ज्ञान प्राप्तिका लागि सक्दो सदुपयोग गर्न शिक्षकहरुले प्रेरित गर्नुको विकल्प छैन ।’ विद्यालयका प्रअ घनश्याम आचार्यले विद्यालयको शैक्षिक गुणस्तर विकास गर्न पछिल्लो समयमा अभिभावक, शिक्षक, विद्यार्थी सबैसँग हातेमालो गरेर अगाडि बढिरहेको बताए । पूर्व विद्यार्थीहरूको पहल र प्रयासमा स्थापना हुने अक्षयकोषले जेहेन्दार, गरिब विद्यार्थीलाई टेवा पुग्ने बताए ।