धरान / ‘शिक्षाका लागि सङ्गीत’ अभियान अन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिकामा पर्ने महाभारत आधारभूत विद्यालयका ४० विद्यार्थीलाई ज्याकेट वितरण गरिएको छ ।
गायकहरू डिल्ली फोम्बो र प्रशान्त शर्मा तथा दिनेश ढुङ्गेल मिलेर केही समयदेखि ‘शिक्षाका लागि सङ्गीत’ अभियान चलाइरहेका छन् । उनीहरू साङ्गीतिक कार्यक्रम गरेर सङ्कलन भएको रकम र अन्य सहयोगी दाताहरूबाट प्राप्त रकमबाट आर्थिक अवस्था नाजुक भएका विद्यार्थी र विद्यालयलाई सहयोग पुर्याउँछन् ।
शिक्षाका लागि सङ्गीत अभियानअन्तर्गत उनीहरूले केही समययता धनकुटाको साँगुरीगढी गाउँपालिकामा पर्ने महाभारत आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री र लुगा, कपडा सहयोग गरिरहेका छन् । केही समयअघि विद्यार्थीहरूलाई स्वेटर, विद्यालय पोसाक, जुत्ता र शैक्षिक सामग्री वितरण गरिएको थियो भने शुक्रबार ज्याकेट वितरण गरिएको हो । ज्याकेट वितरण गर्न उनीहरूलाई रविन राई, उपेन्द्र राई र रञ्जीत राईले सहयोग गरेका थिए ।
अब विद्यालयका दुई वटा कक्षाकोठाका लागि फर्निचर र भूइँ ढलान गरिदिने योजना रहेको अभियान सञ्चालन गरिरहेको गायक डिल्ली फोम्बोले बताए ।