भण्टाबारी/ ओढ्ने, ओछ्याउने र लगाउने न्यानो लुगा छैन । पुसको मुटु कमाउने जाडोमा थर्थरी काँप्दै मुसहर समुदायले रात कटाउने गरेका छन् भने दिनमा जाडो छल्न टोलमा बालिने घुरको सहारा लिने गरेका छन् । चोक–चोकमा फालिएका प्लास्टिक र झुत्रा कपडा बटुलेर सल्काउने घुरले कोशी गाउँपालिका वडानम्बर १ लौकहीस्थित झरुवा बस्तीका मुसहरका लागि न्यानो खोजी गर्ने माध्यम बनेको छ ।

जाडो बढ्दै जाँदा न्यानो कपडा र पोषिलो खानेकुरा अभावले यहाँका मुसहरका लागि प्लास्टिक र झुत्रा कपडा बटुलेर बालिएको घुरकै भरमा जाडो बित्दै छ । कोशी गाउँपालिका–१ लौकही, वडानम्बर ७ स्थित सुकुम्बासी बस्ती होस् कि इनरुवा नगरपालिका क्षेत्रका मुसहर जातिका दलित बस्ती हुन्, उनीहरूका लागि घुर नै जाडोबाट बच्ने सहारा हो । स–साना पराले झुप्रा भएका बस्तीपिच्छे बालिएका घुर नै मुसहर समुदायको जाडोबाट बच्ने उपाय बन्दै आएको देखिन्छ ।

बस्तीमा बालिने घुरको आगो वरिपरि महिला, बालबालिका तथा बूढापाखा एकैसाथ हात फैलाएर न्यानो खोजी रहेका भेटिन्छन् । सुनसरीसहितका पूर्वी तराई मधेसमा बर्सेनि हिउँदमा शीतलहरको कहर हुने गरेको छ । यस्तो समयमा न्यानो लुगा लगाउने, घरबाहिर ननिस्कने र पोषिलो खानेकुरा खानुपर्ने स्वास्थ्यकर्मी बताउँछन् । यद्यपि चरम् गरिबी र अशिक्षामा रुमल्लिएको मुसहरबस्ती यसबारेमा अनभिज्ञ छन् ।

कपडा अभाव
कोशी गाउँपालिका–१ लौकहीस्थित मुसहर बस्तीका ८ वर्षीय किसन सदा र उनका भाइ ७ वर्षीय रवि सदा क्रमशः ३ र २ कक्षामा स्थानीय सावित्री आधारभूत विद्यालयमा अध्ययनरत छन् । रवि पेटमै हुँदा उनका बाबुको मृत्यु भयो भने उनलाई जन्म दिएको केहीदिनमा आमाको समेत मृत्यु भयो । दुवै दाजुभाइलाई उनीहरूका हजुरआमा खिरनीदेवीले जेनतेन पाल्दै आएकी छन् । एउटा झुपडीमा बस्दै आएका दाजुभाइलाई खिरनीले मागेर पालन–पोषण गरिआएको बताइन् ।

गर्मीमा त्यति समस्या नभए पनि जाडो काट्न निकै समस्या भएको उनले सुनाइन् । खिरनीले भनिन्, ‘गर्मीमा जेनतेन चल्छ, जाडोमा शरीर न्यानो नै हुँदैन, न्यानो कपडा किन्ने पैसा छैन ।’ सोही स्थानकी १३ वर्षीया आँखा नदेख्ने शान्ति सदाको समस्या पनि उस्तै छ । सावित्री आधारभूत विद्यालयमै कक्षा ४ मा अध्ययनरत शान्तिको ८ वर्षअघि आमाबाबु बिते । चिसो बढेपछि आगो तापेरै रात बिताउने गरेको शान्तिले बताइन् । उनले भनिन्, ‘गरिबलाई खान त पुग्दैन । कहाँँबाट न्यानो लुगा लगाउनु, त्यसैले भएको पुरानो कपडा र घुरकै आगोले जाडो बित्दै छ ।’

जन्मिएदेखि नै बोल्न र हिँड्न नसक्ने सोही बस्तीका १२ वर्षीय नरेश सदाको आफ्नै समस्या छ । ‘नरेशलाई लगाइदिएको एउटा कपडाले मङ्सिर र पुसको जाडो बित्यो’ –उनका बुबा रेशम सदाले भने । ‘छोरा जन्मेदेखि बोल्न र हिँड्न सक्दैन’ उनले भने, ‘डाक्टरले उपचार गरेमा निको हुने भन्छन् तर के गर्नु जाडोमा न्यानो कपडा किन्ने त हैसियत छैन, कसरी उपचार गराउनु ?’ तत्काल जाडोबाट बच्न सहयोग गरिदिन रेशमले आग्रह गरेका छन् । मुसहर बस्तीको अवस्थाका बारेमा सामाजिक सञ्जाल फेसबुकमा लाइभ देखाएपछि केही व्यक्तिबाट सहयोग गर्ने आश्वासन पाएको लौकहीका स्थानीय पवन रौनियारले बताए ।

सुनसरीसहित मधेसमा जाडो बढेको छ । हुनेखानेलाई त्यति समस्या छैन । उनीहरूले बाक्लो लुगा लगाएर शरीर न्यानो राख्न थालेका छन् । तर, आर्थिक अवस्था कमजोर हुने सुकुम्बासी बस्तीका मुसहरका लागि बर्सेनि शीतलहर कहर बनेर आउँछ । जाडो छल्ने न्यानो कपडा किन्ने उनीहरूमा हैसियत हुँदैन । मुसहरसहितका दलित समुदायको जीवनस्तर उकास्न विभिन्न क्षेत्रमा स्थानीय, प्रदेश र सङ्घीय सरकारले थुप्रै बजेट खर्च गर्दै आए पनि गरिब र विपन्नलाई जाडोबाट बचाउने सरकारी योजना योजनामै सीमित छ ।