विजयपुर । धरान उपमहानगरपालिका वडा नम्बर ६ ले जग्गाको साँध–सिमानामा रोपिएका बोटबिरुवा हटाउन निर्देशन दिएको छ ।
बिहीबार वडा नम्बर ६ का अध्यक्ष भूपेन्द्र भट्टराईले सूचना जारी गर्दै जथाभावी बोटबिरुवा रोप्दा छिमेकीसँग विवाद सिर्जना हुनुका साथै सडक र विद्युत् पोललगायत सार्वजनिक संरचनामा समेत असर पर्ने भएकाले सचेत गराएका हुन् ।
सूचनामा निजी जग्गाको साँध–सिमानामा रोपिएका बोटबिरुवाले छिमेकी (साँधियार) सँग विवाद निम्त्याउने र सीमासँग जोडिएका सडक क्षेत्रमा रहेका विद्युत् पोल तथा अन्य सार्वजनिक संरचनामा असर पुग्ने उल्लेख गरिएको छ । वडाले बोटबिरुवा रोप्दा आफ्नै जग्गाभित्र सीमित राख्न, छिमेकी तथा सार्वजनिक स्थललाई असर नपर्ने गरी निश्चित मापदण्ड अपनाउन अनुरोध गरेको छ । साथै सार्वजनिक स्थान, सडक तथा साँधियारलाई असर पुग्ने गरी रोपिएका बोटबिरुवा तत्काल हटाउन सम्बन्धित नागरिकलाई आग्रह गरिएको छ ।