धरान/ आमाबाबु एकाएक बेपत्ता बनेपछि बिचल्लीमा परेका बालबालिकाहरूलाई धरान उपमहानगरले उद्धार गरेको छ ।

एक वर्षअघि बुबाआमा नै बेपत्ता बनेपछि सहाराविहीन बनेका बालबालिकाको विषयमा ब्लाष्ट दैनिकले पुस २१ गतेको अङ्कमा समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि धरान–१७ नम्बर वडा कार्यालयको पहलमा सहाराविहीन तीन जना बालकहरूलाई धरान–३ स्थित सरस्वती बालआश्रममा पठाइएको छ । धरान–१७ को दीपेन्द्र आधारभूत स्कुलमा अध्ययनरत १३ वर्षका आयुष भुजेल, असिम भुजेल र पावल भुजेललाई वडा कार्यालयको पहलमा उद्धार गरिएको हो ।

‘वडाको पहलमा तीनै जनालाई सरस्वती बाल आश्रममा पठाइएको छ’ वडाध्यक्ष तथा सामाजिक विकास समितिका सदस्य सूर्यबहादुर भट्टराई ‘मनोज’ ले भने, ‘उनीहरूलाई जाडोमा लगाउने न्यानो कपडा पनि वडाबाटै व्यवस्था गरिदियौं ।’ वडाको सिफारिसमा सामाजिक विकास महाशाखाले सरस्वती बालआश्रमलाई राखिदिनका लागि पत्राचार गरेको थियो ।

महाशाखाकी प्रमुख प्रज्ञादेवी निरौलाले तत्काललाई राखिदिनका लागि आग्रह गरिएको बताइन् । ‘उनीहरूको तथ्य के छ, खोजी गरिनेछ । बुबाआमा भेटिए भने यी बालकहरू अभिभावकलाई जिम्मा लगाइदिन्छौं’ उनले भनिन्, ‘नभेटिएको अवस्थामा भने सिफारिस गरेर आश्रममै बस्ने व्यवस्था गरिनेछ ।’

महाशाखाको सिफारिसमा तत्काल राखिए पनि वास्तविकता पत्ता लगाउने कार्य भने जारी रहने उनले बताइन् । उनीहरू कक्षा ४, ३ र १ कक्षामा अध्ययनरत छन् । असिम र पावेल धरान–१७ का मदन राईको घरमा बसेर पढ्दै आइरहेका थिए । आयुष भने धरान–१० रमाइलो चोकमा आश्रित रहेका थिए । उनीहरूका एक बहिनी रहेकी छन् । हाल उनी धरान–५ देउरालीमा बस्दै आएको उनीहरूले बताएका छन् । उनको पनि उद्धार गर्ने तयारी गरिएको छ ।

वडाध्यक्ष भट्टराईका अनुसार उनीहरू हाल दीपेन्द्र आधारभूत स्कुलमा अध्ययनरत रहेकाले आवत–जावतका लागि टेम्पो रिजर्भ गरिदिएको बताए । त्यसका लागि लाग्ने खर्च नगरपालिकाले नै तिर्ने शर्त रहेको उनले बताए । त्यस्तै वडाले उनीहरूलाई जाडोको लुगालगायतका ट्रयाकसुटसमेत वितरण गरेको छ । आर्थिक रूपमा विपन्न उनीहरू बुबाआमा बेपत्ता बनेसँगै बिचल्लीमा परेका थिए ।