सिरहा । प्रदेश २ मा राष्ट्रियसभा सदस्य निर्वाचनमा शतप्रतिशत मत खसेको छ । ३ सय ७९ मतदाता रहेको प्रदेश २ मा शत प्रतिशत मत खसेको निर्वाचन अधिकृत राजु कुमार खतिवडाले जानकारी दिएका छन् ।

प्रदेश २ को अस्थाइ राजधानी जनकपुरधामको महेन्द्र नारायण निधि साँस्कृतिक प्रतिष्ठान भवनमा मतदान भइरहेको निर्वाचन अधिकृत खतिवडाले बताए । निर्वाचनमा १ सय ७ जना प्रदेशसभा सदस्य र २ सय ७२ जना स्थानीय तहका प्रमुख, उपप्रमुख गरी ३ सय ७९ जना मतदाताले मतदान गरेका छन् ।

प्रदेश २ मा राष्ट्रियसभा सदस्यको ४ पदका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग राष्ट्रिय जनता पार्टी नेपाल राजपा र नेपाली काँग्रेससँग समाजवादी पार्टीले गठबन्धन बनाएर आआफ्नो उम्मेदवारलाई चुनावी मैदानमा उतारेका छन् ।

महिला एकपदको लागि भएको निर्वाचनमा नेकपाको तर्फबाट तुलसाकुमारी दाहाल र नेपाली काँग्रेसको तर्फबाट नगिना यादव, दलित एक पदकालागि भएको चुनावमा नेकपाको तर्फबाट राधेश्याम पासवान र समाजवादी पार्टीको तर्फबाट रामपृत पासवान प्रतिष्पर्धामा छन् भने अल्पसंख्यक १ पदका लागि नेपाली कांग्रेसबाट भोला पंजियार र राजपाबाट शेखरकुमार सिंहले उम्मेदवारी दिएका छन् । त्यस्तै अन्य एक पदका लागि भएको निर्वाचनमा समाजवादीका अनिरुद्धकुमार सिंह र राजपाका मृगेन्द्रकुमार सिंह बिच प्रतिस्पर्धा हुने छ ।

प्रदेश २ मा नेकपाको ३२ प्रदेशसभा सदस्य र ८३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी जम्मा १ सय १५ मतदाता छन् भने राजपाको २५ प्रदेशसभा सदस्य र ५४ नगरप्रमुख र उपप्रमुख गरी ७९ जना छन् । नेकपा र राजपा गठबन्धनको कुल मतदाता संख्या १ सय ९४ रहेको छ ।

नेपाली कांग्रेसको १९ प्रदेशसभा सदस्य र ८१ स्थानीय तहका प्रमुखरउपप्रमुख गरी १ सय मतदाता छन् भने समाजवादीको ३० जना प्रदेशसभा सदस्य तथा ५२ स्थानीय तहका प्रमुखर उपप्रमुख गरी जम्मा ८२ जना मतदाता छन्। कांग्रेस र समाजवादी गठबन्धनको जम्मा मतदाता १ सय ८२ छन् ।

बिहीबार बिहान १० बजेदेखि शुरु भएकोे छ । मतदान सम्पन्न भएपश्चात अहिले राजनीतिक दलहरूको सहमतिमा मतगणना गर्नका लागि सर्वदलीय बैठक शुरु भएको छ । मतपरिणाम पनि विहिबार सार्वजनिक हुने निर्वाचन अधिकृत राजु कुमार खतिवडाले जानकारी दिए ।