भद्रपुर/संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले सामाजिक सुरक्षा योजना तथा वर्तमान श्रम ऐन कार्यान्वयनमा ल्याउन आन्दोलनमा उत्रिने निर्णय सार्वजनिक गरेको छ । श्रम ऐन तथा सामाजिक सुरक्षा ऐन जारी भएको महिनौं व्यतित हुँदा समेत विद्यालय सञ्चालक कार्यान्वयनमा उदासिन भएको युनियनको केन्द्र, प्रदेश र जिल्ला समितिको ठहरलाई सदर गर्दै नगर समितिले आन्दोलनमा उत्रिने निर्णय गरेको हो ।

युनियनका भद्रपुर नगरपालिका अध्यक्ष द्रोण अधिकारीको अध्यक्षतामा वुधबार सम्पन्न बैठकले पहिलो चरणमा नगरपालिका क्षेत्रमा रहेका संस्थागत विद्यालयमा कार्यरत कर्मचारी, सवारी चालक, सहचालक तथा शिक्षकहरूको नियुक्ति पत्र सहितको दरबन्दी विवरण नगर शिक्षा कार्यालयमार्फत अद्यावधिक गर्न सहकार्य गर्ने, न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि गत भदौमा बुझाइएको ध्यानाकर्षण पत्र कार्यान्वयन गर्न नगर सरकारले खेलेको भूमिकाको खोजी गर्ने, सरकारले कार्यान्वयनका लागि लागू गरेको सामाजिक सुरक्षा योजना सफल पार्न सरोकारवालासित नगर सरकारलाई समन्वयकारी भूमिका खोजी गर्न दबावमूलक आन्दोलनमा जाने निर्णय गरेको छ ।

वर्तमान ऐनमा व्यवस्था गरिएको अनिवार्य चाडपर्व खर्च प्रदान गर्न बेवास्ता गरिएको, नियुक्तिपत्र नदिई वर्षैंदेखि काम लगाइरहेको, विदा सुविधामा एकरूपता कायम नभएको, श्रम एनले तोकेको न्यूनतम पारिश्रमिक १३ हजार ४सय५० रुपैयाँ कार्यान्वयन नगरिएको, खाइपाइ आएको तलबलाई तहगत स्तर अनुसार कायम गरी न्यूनतम पारिश्रमिक नघट्ने गरी योगदानमा आधारित पेन्सन कार्यक्रममा सहभागिता नजनाइएको लगायत समस्याको हल गर्न संस्थागत विद्यालय सञ्चालकले बेवास्ता गरेको ठहर सहित आन्दोलनमा जाने निर्णय सर्वसम्मत रूपमा पारित गरिएको अध्यक्ष अधिकारीले बताए । सामाजिक सुरक्षा योजना कार्यान्वयनमा सरकार समेत कमजोर देखिनुले वर्तमान अवस्थामा हजारौं श्रमजीवी शिक्षक, कर्मचारीको कानूनी अधिकार हनन गरिएकोमा उनले चिन्ता व्यक्त गरे ।