इटहरी/ इटहरी उपमहानगरपालिकाको आयोजनामा बिहीबारबाट शुरु नगर विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगितामा चरम लापरबाही भएको पाइएको छ ।

खेलकुदको सामान्य नियमसमेत पूरा नगरिएको प्रतियोगिता सञ्चालित खेलमैदान ढुङ्गा, गिट्टी, बालुवा र लामा–लामा झारले अस्त–व्यस्त छ । इटहरी–९ स्थित जनता माविको मैदानमा भएको प्रतियोगिता अव्यवस्थित भएको भन्दै उपमहानगरपालिकाको आलोचना भएको छ ।

प्रतियोगिता आयोजना गर्दा उपमहानगरपालिकाले जिल्ला फुटबल सङ्घसँग समन्वय नगरिकन झारा टार्ने तरिकाले आयोजना गरिरहेको एन्फा सुनसरी अध्यक्ष केशव कार्कीले बताए । फुटबल खेल्नको लागि मैदान सामान्य मर्मत नै नगरिकन अस्त–व्यस्त चौरीमा खेलाएको कार्कीको भनाइ छ । रेफ्री र लाइन्स म्यानहरू पनि एन्फामा आबद्ध नभएका व्यक्ति रहेको कार्कीले बताए । गैह्ररेफ्रीले बिना डे«स टाउजरमै प्रतियोगिता सञ्चालन गरेर फुटबलको बेइज्जत गरेको प्रतियोगितास्थलमा भेटिएका स्थानीय सौरभ मुखियाले बताए । उनले यस्तो प्रतियोगिताको विश्वसनीयतामै प्रश्न उठ्ने बताए ।

इटहरी उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका अधिकृत कुसुम मगरले प्रतियोगिता आयोजना गर्दा व्यवस्थापनमा समस्या भएको स्वीकारे । इटहरी नगरक्षेत्रका डेढ दर्जन निजी तथा सामुदायिक विद्यालयहरू सहभागी प्रतियोगिताको उपाधि विजेताले नगद ४६ हजार पाउँदा द्वितीय हुने टिमले २५ हजार पुरस्कार पाउनेछ । गतवर्षको विजेताले नगद ६० हजार र उपविजेताले ४० हजार पुरस्कार पाएका थिए । चार दिनसम्म चल्ने प्रतियोगिताको लागि इटहरी उपमहानगरपालिकाले २ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।