काठमाडाै । नेपालमा कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजाे आयोजना गरेको पत्रकार सम्मेलनमा चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण भेटिएको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सोको निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हाल उक्त व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराउँछौँ, यसबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सघन निगरानी तथा विस्तृत अध्ययन गरिरहेको छ ।” बिरामीका नजिकमा आएकाको खोजी गरी पहिचान तथा परीक्षणको काम भइरहेको र त्यसबारे अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीका प्रावधानअनुसार विश्व स्वास्थ्य सङ्गठनलाई चाँडै विस्तृत जानकारी गराउने मन्त्रालयले जनाएको छ ।

अहिले कोरोना भाइरस सङ्क्रमित बिरामी आउन सक्ने स्थानमा तयारी र सतर्कता अपनाइएको छ । त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कको क्षमता बढाएर उपयुक्त जनशक्ति र उपकरणसहित नेपाल भित्रने शङ्कास्पद बिरामीको निगरानी भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसका लक्षणहरूः

१. ज्वरो आउनु।

२. श्वास प्रश्वासमा समस्या देखिनु।

३. निमोनिया हुनु।

४. खोकी लाग्नु।

५. टाउको दुख्नु।

बच्ने उपायः

१. खोक्दा हाँच्छिउ गर्दा रूमालको प्रयोग गर्ने।

२. रूघाखोकीबाट सङ्‌क्रमित व्यक्तिबाट टाढै रहने।

३. अत्यधिक भीडभाडमा जाँदा अनिवाय माक्सको प्रयोग गर्ने।

४. सार्वजनिक स्थानहरूमा जथाभावी हातले नछुने।

५. सरसफाइमा विशेष ध्यान दिने।