कालाबञ्जार/ अङ्ग्रेजी शिक्षक नियुक्तिमा ढिलाइ र विद्यालय व्यवस्थापन समिति चयनमा राजनीतीकरण गरेको भन्दै विद्यार्थीहरूले वराहक्षेत्र–७ देवीघाटस्थित वसन्तऋतु माविमा तालाबन्दी गरेका छन् ।

आइतबार विद्यार्थीहरूले विद्यालयको मूलगेट र प्रशासनको कार्यालयको ढोकामा तालाबन्दी गरेपछि पढाइ प्रभावित बनेको छ । तालाबन्दीपछि विद्यार्थीहरूले विद्यालयका प्रधानाध्यापक कुमारप्रसाद भट्टराईविरुद्ध चर्को नाराबाजी गरेका थिए । अङ्ग्रेजी शिक्षक अविलम्ब नियुक्ति गर्नुपर्ने र विव्यसमा राजनीतीकरण नगर्न प्रअलाई आग्रह गरे । विद्यार्थीहरूलाई स्थानीय अभिभावकले पनि साथ दिएका थिए ।

गत असोज १३ गतेदेखि नै विव्यसको कार्यकाल सकिए पनि हालसम्म विव्यसमा नयाँ पदाधिकारी चयन हुन सकेको छैन । राजनीतिक खिचातानीका कारण समिति गठन नहुँदा शिक्षक नियुक्तिमा ढिलाइ भइरहेको कक्षा १० का विद्यार्थी सुमन बस्नेतले बताए । आफूहरू शिक्षा पाउनबाट बञ्चित भएकाले बाध्य भएर आन्दोलित बन्नुपरेको उनले बताए ।

मागहरू सम्बोधन नभए तालाबन्दी यथावत् रहने उनले चेतावनी दिएका छन् । विद्यार्थीहरूले तालाबन्दी गरेपछि वराहक्षेत्र नगर शिक्षा शाखा अघिल्तिर पनि नाराबाजी गरेका थिए । त्यसक्रममा शिक्षा शाखाका प्रमुख डिल्लीराम अधिकारीले विद्यार्थीहरूको माग चाँडै पूरा गर्ने आश्वासन दिए । विद्यालयले मङ्सिर १३ गते अभिभावक भेला बोलाई समिति गठन गरेपछि एक पक्षीय भएको भन्दै विवाद उत्पन्न भएको थियो । भेलाले अभिभावकहरूबाट खेमराज उदास, इन्दिरा पराजुली, अम्विका बजगाईं र गोपाल घिमिरेलाई विव्यसको सदस्यमा चयन गरेको थियो ।

शिक्षा ऐन २०२८ को दफा १२ को उपदफा १ र २ अनुसार समितिमा वडा कार्यालयका प्रतिनिधि, शिक्षक प्रतिनिधि, प्रधानाध्यापकलगायत रहने व्यवस्था छ । समिति नबन्दा शिक्षक नियुक्ति प्रक्रिया असहज बनेको छ । विद्यालयका प्रअ कुमारप्रसाद भट्टराईले विव्यसको नेतृत्वमा को रहने भन्ने विवादका कारण ढिलाइ भएको स्वीकारे । उनले आगामी सोमबारसम्म निर्णय हुने गरी मिति तय गरिएको बताए । यता अङ्ग्रेजी शिक्षक नियुक्ति प्रक्रियामा रहेकाले विद्यार्थीहरूलाई धैर्य गर्न आग्रह गरे ।

यसअघि करारमा रहेकी मावि तहकी शिक्षिका इन्दिरा काफ्ले आयोग उत्तीर्ण गरेर बिदाइ भएपछि शिक्षक अभाव भएको उनले बताए । यता विव्यसका सदस्यसमेत रहेका शिक्षक प्रतिनिधि इन्द्रप्रसाद भट्टराईले सहमति र निर्वाचन प्रक्रिया दुवै हुन नसक्दा विव्यस चयनमा समस्या भइरहेको बताए । वडा प्रतिनिधिको रूपमा व्यवस्थापन समितिका पदेन सदस्य रहेका वडाध्यक्ष वीरबहादुर लिम्बू र चन्दादाता दयाराम रेग्मीले चुनावी प्रक्रियालाई नस्वीकार्दा समस्या भएको उनको आरोप छ ।