विराटनगर/ सरकारी कागजात र दस्तखत कीर्ते मुद्दामा अदालतले दोषी ठहर गरेपछि प्रदेश १ प्रदेशसभा सदस्य गुलेफुन खातुनको पद गुम्ने भएको छ ।

‘सरकारी छाप दस्तखत’ मुद्दामा जिल्ला अदालत मोरङले गरेको फैसलालाई उच्च अदालत विराटनगरले पनि सदर गर्दै १ वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ जरिबाना फैसला गरेपछि खातुनको पद गुम्ने निश्चित भएको हो ।

तत्कालीन कदमाहा गाविस सचिवको सही र कार्यालयको छाप तत्कालीन गाविसका खरिदार दीपचन्दकुमार मण्डल र कार्यालय सहयोगी विजयकुमार कामतसँग मिलेर खातुनले कीर्ते कागजात प्रयोग गरेकी थिइन् ।

तत्कालीन नेकपा (एमाले)बाट समानुपातिकतर्फको प्रदेशसभा सदस्यमा निर्वाचित खातुनले मोही जग्गा आफ्नो नाममा ल्याउन सरकारी छाप दस्तखत कीर्ते गरेको अदालतले ठहर गरेको छ । जिल्ला अदालत मोरङका न्यायाधीश अम्विकाप्रसाद निरौलाको इजलासले ०७४ वैशाख ३१ गते खातुनलाई १ वर्ष कैद र ५० रुपैयाँ जरिबाना फैसला गरेको थियो ।

जिल्लाको आदेशविरुद्ध खातुन उच्च अदालत गए पनि उच्चले जिल्लाकै फैसला सदर गर्दै जरिबाना रकममा वृद्धि गरिदिएको छ । उच्चले गत पुस ६ गते १ वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ जरिबानाको आदेश गरेपनि खातुन पक्राउ परेकी छैनन् ।

खातुनमाथि तत्कालीन मुलुकी ऐनअनुसार मुद्दा चलेको थियो । फौजदारी मुद्दामा दोषी ठहर भएपछि स्वतः पदमुक्त हुने प्रावधान छ । तर, यसको जानकारी प्रदेशसभामा पुगेको छैन । कानून व्यवसायी अधिवक्ता खगेन्द्र श्रेष्ठले फौजदारी अभियोगमा अदालतबाट दोषी ठहर भएपछि सांसद् पद गुम्ने बताए । खातुनको पद गुमेपछि समानुपातिक लिष्टबाट पार्टीले अर्को मान्छे पठाउन सक्ने उनले बताए ।

१ नम्बर प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीले अदालतको आदेशबारे प्रदेश सचिवालयमा औपचारिक जानकारी नआएको बताए । औपचारिक रूपमा प्रदेश सभामा जानकारी आएपछि संविधान र कानूनअनुसार आवश्यक प्रक्रिया अगाडि बढ्ने उनको भनाइ थियो । कानूनका जानकारहरूका अनुसार अदालतको फैसलाबारे प्रदेशसभामा जानकारी पुगेपछि सचिवालयले पदमुक्त भएको निर्णय गर्नेछ । त्यसपछि उनको स्थानमा बन्दसूचीबाट नयाँ सदस्य पार्टीले पठाउन सक्छ ।

नेपालको संविधान २०७२ को धारा १७८ को (घ) मा प्रदेश सभा सदस्य नैतिक पतन देखिने फैजदारी कसूरमा सजाय नपाएको हुनुपर्ने उल्लेख छ । संविधानको धारा १८१ मा अयोग्य भए नभएको प्रश्न उठेमा त्यसको अन्तिम निर्णय सर्वाेच्च अदालतको संवैधानिक इजलासले गर्ने उल्लेख छ । तर, फौजदारी कसूर देखिएको अवस्थामा भने स्वतः पदमुक्त हुने कानूनविद्हरूको भनाइ छ ।

जिल्ला अदालतबाट दोषी ठहर भएकै अवस्थामा प्रदेशसभा सदस्य बन्न सफल खातुनलाई उच्चको फैसलापछि भने प्रहरीले पक्राउ गर्न खोजी गरिरहेको छ । प्रहरीले खोजी गरेको थाहा पाएपछि उनी अहिले फरार छिन् । गत बिहीबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनको मतदानमा समेत उनी अनुपस्थित रहेकी थिइन् ।

साबिक कदमाहा गाउँ विकास समिति–२ (हाल धनपालथान गाउँपालिका–६) मा खातुनका ससुरा शेख धाइका मियाँको ११० कित्ता नम्बरको ७ हजार २ सय ८० वर्गमिटरको मोही जग्गा आफ्नो नाममा पार्न खातुनले सरकारी सहीछाप कीर्ते गरेकी थिइन् ।