विराटनगर/ मोरङको कटहरी गाउँपालिकाकी ३५ वर्षीया दयावती सरदारले प्रेमीसँग मिलेर श्रीमान्को हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

कटहरी गापा–७ का ४५ वर्षीय विकास सरदारको हत्या उनकी धर्मपत्नी दयावती र प्रेमी बोस भनिने ३६ वर्षीय बद्री सरदारले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

श्रीमतीको परपुरुषसँगको अवैध सम्बन्ध नै विकासको हत्याको मुख्य कारण रहेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।

परपुरुषसँगको अवैध सम्बन्ध चाल पाएपछि दयावतीले प्रेमीसँग श्रीमान्को हत्या गरेको बताइएको छ । विकासको शव टाउकोमा पछाडिपट्टि चोट लागेको अवस्थामा ग्रामथान गाउँपालिका–३ स्थित पानी जमेको खाल्डोमा माघ ६ गते सोमबार फेला परेको थियो ।

‘शुरुमा दयावती र उनका प्रेमी बद्रीकै सल्लाह र योजनाअनुसार हत्याको योजना बनाएको पाइयो’ उनले भने, ‘उनीहरूलाई पछि स्थानीय ३६ वर्षीय ललन सरदार र २५ वर्षीय करिया भनिने मुकेश सरदारले पनि साथ दिएको खुलेको छ ।’ प्रहरीले गत शनिबार बद्रीलाई घरैबाट पक्राउ गरेपछि उनले दिएको बयानका आधारमा दयावती, ललन र मुकेशलाई पक्राउ गरिएको एसपी अधिकारीले बताए । उनले पक्राउ परेका चारै जनालाई प्रहरीले मङ्गलबार विराटनगरमा सार्वजनिक गर्दै उनीहरू विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान शुरु गरिएको जनाए ।

यसरी भयो विकासको हत्या
विकासको घरमा मदिरा पसल थियो । त्यहाँ मदिरा सेवन गर्ने बहानामा ललन र मुकेशलाई लिएर बद्री माघ ५ गते आइतबार साँझ पुगेका थिए । त्यहाँबाट तीन जनाले विकासलाई गाउँतिर तास खेल्न जानुपर्छ भन्दै लगे । केही पर एकान्तमा लगेर राति १० बजे फलामको डण्डीले शुरुमा ललनले टाउकोको पछाडिपट्टि प्रहार गरे । उनी त्यहीँ ढले । पहिलो प्रहारमै विकास ढलेपछि पालैपालो बद्री र मुकेशले पनि प्रहार गरेर गम्छाले घाँटीमा कस्दै हत्या गरेर पानी जमेको खाल्डोमा लगेर फ्यालिदिएका थिए । टाउकोमा हान्न प्रयोग गरिएको डण्डी लुकाएर राखिएको अवस्थामा प्रहरीले जुडी खोलाबाट बरामद गरेको छ ।

हत्या गरिसकेपछि पानीमा डुबेर मृत्यु भएको देखाउन खाल्डोमा लगेर हालेको अनुसन्धानबाट खुलेको छ । बद्रीसँग दयावतीको दुई वर्षदेखि अवैध प्रेम सम्बन्ध रहेको र दुईबीच शारीरिक सम्पर्क समेत हुने गरेको थियो । श्रीमतीको परपुरुषसँगको अवैध सम्बन्ध विकासले थाहा पाएपछि आफूहरूको सम्बन्धमा बाधक बन्न सक्ने आँकलन गरेर दयावती र बद्रीको योजनामै हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।