सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी ।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।।
सङ्गीत, ज्ञान अनि विद्याकी देवी सरस्वतीको यही स्तुतिको सरल नेपाली अनुवाद प्रस्तुत गर्दै आजको सरस्वती पूजा विशेष आलेखलाई श्री गणेश गर्न चाहन्छु । जो चन्द्रको समान उज्वल हुनुहुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने स्फटीकको मालासहित सुशोभित हुनुहुन्छ, सेतो कमलको फूलमा आसीन ती देवी जसको ब्रह्मा, विष्णु तथा शिव आदि सबैले उपासना गर्नुहुन्छ, उनै माता सरस्वतीले हाम्रा अज्ञानताहरू चिर्दै हामीलाई निर्मल विद्या दिनुहोस् ।
सरस्वती पूजा या भनौ, श्रीपञ्चमी भनौ वा वसन्त पञ्चमी आज विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतीको पूजा आराधना गरी मनाइने विशेष दिन हो । आजबाट क्रमशः वसन्त ऋतुको शुरुवात हुने मान्यता रहेको छ । यो हिउँदको मुटु छेड्ने जाडो र पानीको ठिहीबाट मुक्त हुँदै क्रमशः अब कोइलीको कुहुकुहु अनि न्यानोपनको राजा मौसम बसन्तको सेरोफेरोमा स्वागत गर्ने दिन हो ।
वैदिक सनातन हिन्दू संस्कारका अत्यन्त व्यावहारिक आयामहरू छन् । यी संस्कारहरू नेपालीपनका अभिन्न अङ्गहरू भएका छन् । हलो, गोरु, माटो, बोट बिरुवा, कुकुरलगायत चेलीबेटी, औजारहरू अनि अन्नबालीहरूका साथै आजको दिन सिर्जना अनि ज्ञानको पूजा गर्ने दिन पनि हो है । ब्रह्मवैवर्त पुराणमा प्रष्ट रूपमा उल्लेख गरिएको छ कि विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले सम्झना गर्दै पूजा गर्नेले ती विद्यामा सफलता पाउने छन् भनी भगवान् श्री कृष्णले वरदान दिएका हुन् । विहानै उठेर प्रातः स्नानपश्चात् चोखोनितो गरी सफा कपडा लगाएर कलश स्थापना गरिन्छ अनि क्रमशः गणेश, विष्णु, शिव आदि देवताहरूको अर्चना गरिन्छ, सूर्यको अर्चना पनि गरिँदै सरस्वतीको उपासना गरिन्छ ।
विद्यालयहरूमा त आज विशेष रमझम रहन्छ, तराईतिर आजको दिन रङ्गिन गुलिया रसिला बुनियाँको दाना, बयर तथा अन्य फलपूलहरू प्रसादीका रूपमा बाँडिन्छ । कतिपय विद्यालयमा विद्यार्थीहरूको सक्रियतामा शाकाहारी भोजनै आयोजना समेत गरिने गरिएको छ । विभिन्न रङ्गका तोरणहज्ञ झुण्ड्याएर, अशोकको रुखको पात या केराका दाम्चा अनि बाँसको प्रयोग गरेर बनाएका प्रवेश द्वारहरूबाट आज धेरै विद्यालयहरू सजिसजाउ रहन्छन् । विद्यार्थीहरूका लागि आजको अर्काे रौनकता भने आजको दिनमा विद्यालयको दैनिक पोशाक विना नै विद्यालय प्रवेश गर्न पाउनु हो, फरक फरक पोशाकमा रङ्गीन विद्यार्थीहरूको लर्काे आज धेरै विद्यालय परिसरमा देखिन्छ ।
काठमाडौंमा विभिन्न सरस्वती मन्दिरहरू जस्तै नीरबाराही, लाजिम्पाट, स्वयम्भू, गैरीधाराको नीलसरस्वती, ललितपुरको लेले आदिमा मेला लाग्ने गर्छ भने नेपालभरिका धेरै मन्दिर अनि विद्याको केन्द्र विद्यालयहरूमा जमघट रहन्छ । पशुपतिमा रहेको सरस्वतीको मूर्ति जसलाई बुद्धमार्गीहरूले मञ्जुश्रीका रूपमा पनि पूजा गर्दछन् । त्यसै प्रतिमामा आज विशेष पूजा अर्चना गर्ने गरिन्छ । नेपालको परिवेशमा कुरा गर्ने हो भने हामी नेपाली साँच्चीकै सानो परिवेशमा बाँचेका भने पक्कै छैनौ । नेपाल अधिराज्य भरिको धेरैजसो सरकारी विद्यालयहरूमा कहीँ कतै सानो या ठूलो सरस्वतीको मन्दिर रहेकै छ । सरस्वती देवीलाई हिन्दू धर्म या संस्कारसँग भन्दा पनि मानवहरूको विद्याप्रतिको आशक्तिका रूपमा हेर्न जरुरी छ । हामी जुनसुकै धर्म या विश्वासको भए पनि हाम्रो विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका लागिकेन्द्रका रूपमा विद्याकी देवी सरस्वती र आजको दिनलाई लिन सकिन्छ ।
आजकै दिनमा हामीमध्ये धेरैले अक्षराम्भ गरेका हुनसक्छौं, अर्काेतर्फ आजको दिन सर्जकहरूको दिन हो । आफ्ना सिर्जना र शब्दहरूको पूजा गर्ने विशेष दिन सरस्वती पूजाको अवसरमा सम्पूर्ण ज्ञान र कलाका सर्जकलाई शुभकामना,छ । यो सिर्जनाको डोर अनन्त कालसम्म रहिरहोस् । सिर्जनाका औजारहरू कलम, मसी अनि कागजको आज पूजा गरिन्छ, सरस्वतीको असिम कृपाले सकारात्मक शब्दहरू, भावहरू, व्याख्याहरूको पदार्पण भइरहोस्, सर्जकहरू चाहे लेखक हुन्या गायक या व्यूटिसियन हुन् या सुचिकार या घर बनाउने मिस्त्रीदेखि मूर्ति बनाउने मूर्तिकारसम्म सबैले आफ्नो सिर्जनाको सम्मान तथा मूल्य सही पाऊन् । जाँगर लागिरहोस् सिर्जनामा अनि सिर्जनाको उजेलीले समाजको अँध्यारो सँधै दूर होस् ।
आजको वसन्त पञ्चमीलाई मुस्लिम समूदायले सुफि बसन्तका रूपमा १२औं शताब्दीदेखि मनाउँदै आएको विभिन्न दस्तावेज अनि मुसलमान किम्बदन्तीहरूमा उल्लेख पाइन्छ । दिल्लीका तत्कालीन फकिर निजामुद्धीनका भतिजा तकुद्धिनको असामयिक मृत्युले निजामुद्धीन अत्यन्त मर्माहत भएका थिए, सुफीका महान् कवि अमिर फुस्रोले फकिरलाई खुशीपार्न आजकै दिन गमलामा फूल र पहेँलो वस्त्रमा हाँस्दै गएर फकिरलाई हसाउन सकेकाले यस दिनलाई सुफि बसन्त पनि भनिएका जन उक्तिहरू रहेका छन् । त्यसपश्चात् आजको दिनलाई निजामुद्धीन औलियाको दिल्लीमा रहेको दरगाहमा सधैं सुफि बसन्तका रूपमा मनाउन थालिएको हो । तपार्इं हामी जुनै धर्म या संस्कृति मा विश्वास भएका व्यक्ति भए तापनि विद्या हामी सबैलाई आवश्यक छ । सिर्जना र सर्जकको कदर हामी सबैले गर्न जरुरी छ ।
लेख्नेको मसी नसकियोस्, बोल्नेको आवाज दुरुस्त रहोस् अनि हेर्नेको नजर खुल्ला रहोस् । क देखि ज्ञ सम्मका वर्णमाला वा जुनसुकै वर्णमाला अनि शब्द विन्यासहरूले हामीलाई ज्ञान अभिव्यक्त गर्दा सदैव साथ दिऊन् । ए बि सि डि आदिका अक्षरशः प्रयोग जारी रहोस् । व्याकरणले साथ देओस्, सङ्गीतका सातै सुर अनि अभिनयका सम्पूर्ण रसहरूले साथ दिऊन् । मुख्य कुरा शृङ्गार रसले जीवन भरिपूर्ण होस्, सरस्वती माताको जय ।
विद्याकी देवी सरस्वतीको दिन अनि धेरै जनाको अक्षराम्भ भएको अनि कलम किताब, मसी, सिसाकलम अनि पुस्तकसँगको प्रथम साक्षात्कार भएको दिन भएकाले पनि हरेक वर्षको सरस्वती पूजाका दिन राष्ट्रिय पुस्तक दिवस पनि मनाइने गरिन्छ । केही वर्षअघि मात्रै राष्ट्रिय पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले सरकारसँग सरस्वती पूजाका दिनलाई राष्ट्रिय पुस्तक दिवस घोषणा गर्न माग गरेको हो । महासङ्घले आफ्नै पहलमा विभिन्न कार्यक्रमहरू गरेर राष्ट्रिय पुस्तक दिवस मनाउँदै आएको छ । हरेक पुस्तकका पाना अनि अक्षरहरूमा विद्याकी देवी सरस्वतीको बास रहिरहोस् । अस्तु ।
साभारः हाम्रो पात्रो