धरान/ धरान–१५ स्थित नवज्योति स्कुलले बुधबार आफ्नो वार्षिक उत्सवका साथै अभिभावक दिवस मनाएको छ ।

विद्यालय परिसरमा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिका साथ दिवस भव्यरूपले मनाएको हो । कार्यक्रका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका शिक्षा विभाग प्रमुख एवम् उपसचिव रत्नबहादुर कटुवाल र विशेष अतिथि धरान–१५ का वडाध्यक्ष नरेशकुमार इवारम रहेका थिए । प्रमुख अतिथि, विशेष अतिथि, विद्यालयका प्रिन्सिपल सिस्टर ज्योतिलगायतले पानसमा दीप प्रज्वलन गरी सामूहिक रूपमा कार्यक्रमको समुद्घाटन गरेका थिए ।

प्रमुख अतिथि उपसचिव कटुवालले कार्यक्रमको सफलताको कामना व्यक्त गरेका थिए । स्कुलको उन्नति र प्रगतिको कामना गर्दै उनले प्रत्येक अभिभावकले आफ्ना बालबालिकालाई आधुनिक प्रविधिसँगै खेल्दै रम्दै सिक्ने वातावरण सिर्जना गरिदिनुपर्ने बताए । बालबालिकालाई किताबी ज्ञानभन्दा पनि नयाँ–नयाँ प्राविधिक ज्ञान दिनु आजको आवश्यकता रहेको उनले औंल्याए ।

सो अवसरमा कार्यक्रमका विशेष अतिथि १५ नं. का वडाध्यक्ष इवारमले नवज्योति स्कुलले ठूलो सङ्घर्ष गरेर आजको सफलता हासिल गर्न सकेको बताउँदै स्कुलले वडा नं. १५ र समग्र धरानको विकासमा सघाउ पु¥याउने बताए । शिक्षाले नै हरेक क्षेत्रको विकास गर्ने बताउँदै उनले नवज्योति स्कुलले शिक्षाका क्षेत्रमा ठूलो योगदान दिएको चर्चा गरे । स्कुलको उन्नति र प्रगतिको कामना गर्दै वडाबाट आफूले सदैव सक्दो सहयोग गर्ने बताए । उनले स्कुलको प्रशंसा गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा स्कुलका प्रिन्सिपल सिस्टर ज्योतिले विद्यालयमा गत शैक्षिक सत्रमा भएका विभिन्न क्रियाकलापबारे प्रकाश पार्दै विद्यालयको वार्षिक प्रगति प्रतिवेदनका प्रस्तुत गरेकी थिइन् । यसअघि उनले कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि, अन्य अतिथिहरूलगायत उपस्थित सम्पूर्ण अभिभावकहरूलाई स्कुल र आफ्नो तर्फबाट हार्दिक स्वागत गर्दै खादा र मायाको चिनो प्रदान गरेकी थिइन् ।

कार्यक्रममा स्कुलकी भाइस प्रिन्सिपल सिस्टर सुष्माले कार्यक्रम सफल पार्न सहयोग पु¥याउने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहभागिताको अपेक्षा राखेको बताइन् । ‘सेभ द अर्थ’ अर्थात् धर्ती बचाऔं भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा स्कुलका विद्यार्थीहरूले विभिन्न जातीय सांस्कृतिक परम्परा झल्कने नृत्य, प्रकृति र वातावरण जोगाऔं भन्ने सन्देशमूलक नृत्य, गीत र नाटिका तथा कराते कौशल प्रदर्शन गरेका थिए । सो अवसरमा गत शैक्षिक सत्रमा नर्सरीदेखि कक्षा १२ सम्म प्रथम, दोस्रो तथा तेस्रो हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन स्कुलका छात्राहरू सुनैना श्रेष्ठ र रोज पुलामी मगरले संयुक्तरूपमा गरेका थिए ।