इटहरी / सुनसरी इटहरी–१ को आँपगाछीस्थित राष्ट्रिय माविमा शुक्रबार हुने भनिएको चुनावमा आन्तरिक विवादका कारण दिनभर तनावग्रस्त बनेको छ ।
विद्यालय व्यवस्थापन समिति (विव्यस) को चुनावमा अभिभावकहरूलाई बोलाइए पनि विवादका कारणले चुनाव हुन सकेन । आन्तरिक विवादका कारण तनावग्रस्त बनेपछि प्रहरी नै परिचालित गर्नुपरेको थियो । गत कात्तिकदेखि विव्यस खाली रहेको छ । निर्धारित तालिकाअनुसार नै अभिभावकको नामावली प्रकाशन, उम्मेदवारी दर्ता र दाबी विरोधको कार्यक्रम भएको थियो । तर नामावली प्रकाशनमा एउटै अभिभावक दोहोरिएको भन्दै उत्पन्न विवादले निर्वाचन नै रोकिन पुगेको हो । नेपाली काङ्ग्रेस र नेकपानिकट अभिभावकहरू प्यानल नै बनाएर चुनावमा होमिएका छन् ।
राजनीतिक दलहरू विद्यालयमा आफ्नो स्वार्थ सिद्ध गर्न छाडेर पठन–पाठन प्रभावकारी बनाउन भूमिका खेल्नुपर्ने हो । तर दलहरू आफ्नो जिम्मेवारी पूरा गर्न छाडेर विद्यालय व्यवस्थापन समिति कब्जा गर्ने अस्वस्थ होडबाजीमा लाग्दा आँपगाछी तनावग्रस्त बनेको हो ।
नेपाली काङ्ग्रेसका निवर्तमान विव्यस अध्यक्ष ज्ञानबहादुर विक, राजन अधिकारी, हीराकुमारी बानियाँ (दाहाल) र लीलादेवी रम्जेल चुनावमा होमिएका छन् । निवर्तमान अध्यक्ष समेत रहेका ज्ञानबहादुरले भने नेकपाका अभिभावकहरूले चुनाव हार्ने भएपछि प्रोपोगाण्डा रचेको बताए । ‘विद्यालय व्यवस्थापन समितिलाई बलियो बनाउनु पर्ने बेला निर्वाचन नै हुन नदिने खेलमा लाग्नु गलत हो’–उनले भने । यता नेकपा पनि प्यानल नै खडा गरेर चुनावमा होमिएको छ । नेकपाले दलबहादुर मगर, तेञ्जिङ शेर्पा, पवित्रा रिजाल र एलिजा खनाललाई उम्मेदवार बनाएको छ ।
नेकपाका उम्मेदवार दलबहादुरले भने अभिभावकहरूकोे नाम लिष्ट षड्यन्त्रपूर्वक निकालेको कारण आफूहरूले विरोध गरेको बताए । उनले भने, ‘हामीले एक परिवारको जति जना विद्यार्थी भए पनि एकै जनाले मात्र भोट हाल्न पाइने भने पनि नाम दोहोरिएकोप्रति हाम्रो आपत्ति हो ।’
उनले अभिभावकहरूको नाम दोहोरिएकाले आफूहरूले स्थगित गर्न लगाएको स्वीकारे । ‘नियमपूर्वक भएको भए निर्वाचन गर्दा हुन्थ्यो तर नाम प्रकाशनमा गल्ती देखिएको कारण हामीले विरोध गरेका हौं’–उनले भने । लामो समयदेखि विवादकै कारण अभिभावकको निर्वाचन हुन सकेको छैन । शुक्रबार पनि नेपाली काङ्ग्रेस र नेकपाका नेताहरूको समेत उल्लेखनीयरूपमा उपस्थित रहेको थियो ।
यता निर्वाचनमा बोलाएर चुनाव नगरेको भन्दै अभिभाकहरूले भने आपत्ति जनाएका छन् ।
विद्यालयमा बोलाएर भोट हाल्न नपाएको भन्दै अभिभावकहरूले आपत्ति जनाएका हुन् । उनीहरूले चुनाव गराऊ भन्दै हो–हल्ला गर्दा प्रहरीले भीडलाई साम्य बनाउनु परेको थियो । सुनसरीकै उत्कृष्ट विद्यालयको रूपमा पर्ने राष्ट्रिय माविमा हाल १ हजार २ सय ७७ जना विद्यार्थी छन् । निजी स्कुलभन्दा राम्रो पढाइ हुने गरेको भन्दै यो विद्यालयलाई उत्कृष्ट मानिएको छ ।