धरान/ धरान–१५ को होलिल्याण्ड इन्टरनेशनल स्कुलको २३ औं वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूले शैक्षिक तथा सांस्कृतिक सामग्रीको प्रदर्शन गरेका छन् ।
हरेक २ वर्षको फरकमा आउने वार्षिकोत्सवमा स्कुलले विज्ञान तथा सांस्कृतिक सामग्रीहरूको प्रदर्शनी गर्दै आएको हो । धरानका ९ वटा संस्थागत विद्यालयका विद्यार्थीहरू प्रदर्शनी हेर्न पुगेका थिए । विद्यार्थीहरूले विज्ञानतर्फ भौतिक, रसायन, जीव विज्ञानको सामग्रीहरू प्रस्तुत गरेको स्कुलका शिक्षक हरिनारायण बास्कोटाले जानकारी दिए । त्यस्तै सांस्कृतिकतर्फ विभिन्न जातजातिका बाजा, औजारहरू प्रदर्शनीमा राखिएको थियो ।
उनका अनुसार विद्यार्थीहरू आफैले बनाएको खानासमेत बिक्रीका लागि प्रदर्शनीमा राखिएको थियो । केही आकर्षक खेलहरूसमेत राखिएको थियो । विद्यार्थीहरूलाई विज्ञान तथा सांस्कृतिक सामग्रीहरूबारे जानकारी गराउनका लागि यस्ता कार्यक्रम गरिँदै आएको स्कुलका अर्का शिक्षक किशोर राईले जानकारी दिए ।
कार्यक्रममा सहभागी अतिथिहरूलाई विद्यार्थीहरूले नृत्य, गायनबाट मनोरञ्जन गराएका थिए । स्कुलका प्रबन्ध निर्देशक अर्जुनकुमार मेन्याङ्बोको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका एसोसिएट प्रोफेसर बबिता अधिकारीले गरेकी थिइन् । कार्यक्रममा एनप्याब्सन धरानका अध्यक्ष भगत लिम्बू, सुनसरी प्याब्सनका बरिष्ठ उपाध्यक्ष अनूप योञ्जनलगायतको उपस्थिति रहेको थियो ।