इटहरी/ पछिल्लो समय चेकबाट ठगी धन्दा बढेको भन्दै प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ ।

चेकमार्फत् लाखौं रुपैयाँ ठगी गरेको भन्दै इलाका प्रहरी कार्यालय इटहरीमा उजुरीको चाङ लाग्न थालेको छ । खातामा पैसा नभएको अवस्थामा पनि चेक काट्दै सर्वसाधारण ठग्ने गरेका छन् । पछिल्लो समयमा चेक बाउन्सको घटना इटहरी आसपासमा अत्यधिक भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीले बिहीबार ठगी आरोपमा इटहरीका नवीन तामाङलाई पक्राउ गरेको छ । तत्कालीन पूर्व माओवादीनिकट वाईसीएल इटहरी अध्यक्ष नवीन तामाङ पक्राउ परेका हुन् । इटहरीकै एक युवालाई ठगी गरेको भन्दै तामाङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । एक लाख ५० हजारको चेक बाउन्समार्फत् ठगी गरेको भन्दै उनलाई पक्राउ गरेको हो । इटहरीका धनबहादुर कटुवालले ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

त्यस्तै इटहरी–२० तरहराका विष्णुप्रसाद अधिकारीलाई गत माघ २३ गते प्रहरीले पक्राउ गरेको हो । २० लाख रुपैयाँ ठगेको भन्दै इटहरी–९ का कैलाश लिम्बूको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो । अधिकारीले लिम्बूलाई लामो समयदेखि झुलाएको भन्दै प्रहरीमा उजुरी परेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी भण्डारीले बताए ।

इटहरी–४ की रीता कार्कीले पनि आफूलाई ठगेको भन्दै इटहरी–५ का बमबहादुर कार्कीले प्रहरीमा उजुरी दिएका छन् । त्यस्तै भोजपुरका गङ्गाबहादुर राईले ४ लाख ठगेको भन्दै पशुपति कठायतले उजुरी गरेका छन् । इटहरीकै प्रेमप्रसाद गौतमले १ लाख ५० हजार ठगेको भन्दै झापाका योगदान काफ्लेले प्रहरीमा उजुरी दिएको डिएसपी भण्डारीले बताए । तीन महिनाको अन्तरालमा उजुरीको सङ्ख्या बढेको प्रहरी बताउँछ ।

इटहरीमा अहिले समस्याका रूपमा चेक बाउन्स धन्दा मौलाएको बताउँदै इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले चेक बाउन्सको धन्दा बढेको बताए । चेक बाउन्समा सर्वसाधारण ठगिने गरेको भन्दै सचेत रहन प्रहरीको आग्रह छ । पछिल्लो समयमा इलाका प्रहरी कार्यालयमा चेक बाउन्सका उजुरीसमेत बढेको प्रहरी बताउँछ ।

त्यस्तै एक महिनाअगाडि इटहरी–१ मा अवैधरूपमा गोर्खा आभूषण प्रालिले बैङ्किङ कारोबार गरी सर्वसाधारणलाई ठगी गरेको पाइएको छ । प्रालिको नाममा पासबुक बनाई वित्तीय कारोबार गरेको भन्दै उजुरी परेको थियो । इटहरीका विश्वराज धिमाल, प्रदीप श्रेष्ठ, टेकबहादुर येङ्देनले ४ लाख ४० हजार ठगेको भन्दै प्रहरीले उनीहरूको खोजी गरिरहेको जनाएको छ ।