बिर्तामोड । अर्जुनधाारा–६ को हिमाली एजुकेशन फाउण्डेशनले एक समारोहको आयोजना गरी १३ औ वार्षिकोत्सव मनाएको छ । नर्सरीदेखि कक्षा ८ सम्मका बिद्यार्थीले सांस्कृतिक तथा विभिन्न कार्यक्रम गर्दै बार्षिकोत्सव मनाएका हुन् ।
बिद्यालयका संस्थापक खड्गराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नं. ६ का अध्यक्ष लोकनाथ गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न जातजातीका सांस्कृतिक नृत्य, कविता, निबन्ध, विभिन्न विषयमा मन्तव्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. ६ का अध्यक्ष गौतमले सामुदायिक र संस्थागत बिद्यालयले शिक्षामा एकरुपता कायम गर्न आग्रह गरेका छन् । उनले निजी र सामुदायिक बिद्यालयले प्रतिस्पर्धा गर्न नहुने बताए । बिद्यालयको भौतिक संरचना र पठनपाठनको आधारमा कक्षा थप गर्ने वा नगर्ने नगरले नीति निर्माण गर्न लागेको उनले बताए ।कार्यक्रममा नेपाल दशनामी समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष गोविन्दविक्रम गिरी, अर्जुनधारा नगर खेलकुद समितिका संयोजक अर्जुन मेचे, अभिभावक संघकी अध्यक्ष सिता बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बिद्यालयका प्रिन्सिपल शान्ता गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक वासुदेव बरालले गरेका थिए । कार्यक्रममा नेपाल दशनामी समाज प्रदेश नं. १ का अध्यक्ष चन्द्रप्रसाद गिरी, बिर्तामोड नगर अध्यक्ष अर्जुन गिरी, समाजसेवी टेकबहादुर खजुमलगायतले शुभकामना दिएका थिए । त्यसैगरी उत्कृष्ट शिक्षकका रुपमा गोमा खनाललाई नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा गत बर्ष विभिन्न बिधामा पहिलो, दोस्रो र तेस्रो हुने बिद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो ।
 
                     
         
                                        
                                                                                                 
        































