सिरहा / सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं. ५मा सुकुम्वासी बस्ती खाली गराउन भूमाफिया बन्दुकसहित पुगेका छन् ।
भूमाफिया मिर्चैया नगरपालिका वडा नं.५ पूर्व–पश्चिम राजमार्गअन्तर्गत उत्तरपट्टि जीवा खोला छेउमा रहेको सुकुम्बासी बस्ती डोजर लगाएर खाली गराउन बन्दुकसहित पुगेका थिए । बन्दुक बोकेर पुग्ने स्थानीय वीरेन्द्र साह भएको बताइएको छ ।
उक्त बस्तीमा ३८ घरपरिवार दलित पासवान, मुसहरलगायतका जाति बस्दै आएका छन् । भूमाफिया साह बन्दुकसहित पुगेको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तु जैसवालले झडप हुन सक्ने भन्दै प्रहरी पठाएका थिए ।
अमिन ल्याएर र प्रक्रिया पुरयाएर मात्र जग्गा खाली गराउने भन्ने सहमतिमा पुगेपछि घर नभत्काएको डिएसपी जैसवारले बताए । यता जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार साहले बोकेको बन्दुकको लाईसेन्स भएको वा नभएको बारे केही खुलेको छैन् । उनलाई प्रहरीले कुनै सोधखोजसमेत गरेन । प्रहरीको अगाडी सामान्य व्यक्तिले बन्दुक बोकेर हिड्दासमेत प्रहरीले कुनै प्रतिक्रिया जनाएन ।