काठमाडाैं / राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्वाहाङ्फेलाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन्।
राष्ट्रपति भवन शीतल निवासमा अपराह्न आयोजित समारोहमा राष्ट्रपतिबाट नवनियुक्त मन्त्री तुम्वाहाङ्फेले शपथ लिएकी हुन् । नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनलाई मन्त्री पदमा आजै नियुक्त गरिएकाे थियाे ।
यसअघि उक्त मन्त्रालयको कार्यभार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका थिए । डा. तुम्वाहाङ्फे यसअघि उपसभामुख थिइन् ।
सभामुखको निर्वाचनका लागि मार्गप्रशस्त गर्ने क्रममा उनले गत माघ ६ गते उपसभामुखबाट राजीनामा दिएकी थिइन् । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित सांसद् हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा अध्यक्ष उपस्थित रहेका थिए ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २०७४ साल फागुन ३ गते गठन भएको मौजुदा मन्त्रिपरिषद्को यो आठौँ हेराफेरी एवम् पुनःगठन हो ।