धरान/ कोशीमा जेटबोट सञ्चालन गर्ने कम्पनीका सञ्चालकहरू र स्थानीयबीचको वार्ता निष्कर्षमा पुग्न नसक्दा एक सातादेखि बन्द रहेको जेटबोट अझै चलेका छैनन् । वार्ता निष्कर्षविहीन भए पनि कोशीमा चतरादेखि वराहक्षेत्र मन्दिरसम्म जलयात्रा गर्न चाहने आन्तरिक र वाह्य पर्यटकका लागि भने तीनवटा जेटबोट सञ्चालनमा छन् ।

सर्वसाधारण यात्रुका लागि भने जेटबोट सञ्चालनमा ल्याउन नसकेको वराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिका अध्यक्ष विमलमान श्रेष्ठले बताए । स्थानीय केही उच्छृङ्खल युवाहरूले आफूहरूलाई कमिसन दिनुपर्ने, बुकिङ काउण्टर राख्न दिनुपर्ने र स्थानीय बासिन्दालाई निःशुल्क यात्रा गर्न दिनुपर्ने माग राखेर जेटबोट सञ्चालकलाई डर, धम्की दिन थालेपछि जेटबोट सञ्चालकहरूले असुरक्षाको कारण जनाउँदै फागुन १ गतेदेखि अनिश्चितकालीन बन्द गरेका थिए ।

जलयातायात तथा जेटबोटसम्बन्धी सरकारले ऐन कानून नबनाएकाले स्थानीय उच्छृङ्खल युवाहरूले अवरोध गरेको र सुरक्षा समस्या उत्पन्न भएपछि फागुन १ गतेदेखि कोशीमा चल्ने जेटबोट बन्द गरेका छन् । उनले कोशीमा जेटबोट सञ्चालनका लागि सरकारले समेत बेवास्ता गरेकाले जेटबोट सञ्चालक कम्पनी र स्थानीयबीच वार्ता निष्कर्षविहीन हुनपुगेको बताए ।

उनले भने, ‘सात दिन बितिसक्यो तर प्रदेश र स्थानीय सरकारले वार्ताको पहल गर्न कुनै सुरसार गरेन । प्रदेश र स्थानीय सरकारले पहल नगरेपछि आन्तरिक रूपमा स्थानीय जनप्रतिनिधि, सरोकारवाला, स्थानीय बुद्धिजीवीसँग पुनः वार्ता गर्ने तयारी भइरहेको छ ।’

कोशीमा जेटबोट सञ्चालन हुँदा चारसय बढी आन्तरिक र वाह्य पर्यटक, तीन सय बढी स्थानीय यात्रुले दैनिक जलयात्रा गर्ने गरेका थिए । कोशीमा वराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि, वराहक्षेत्र मरिन एण्ड रिसोर्ट, सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेसन, नेपाल रिभर ट्रान्सपोर्ट प्रालिले जेटबोट सञ्चालन गर्दै आएका थिए ।

जेटबोट सञ्चालन बन्द भएपछि वराहक्षेत्र घुमघाम गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । कोशीमा जेटबोट सञ्चालन नहुँदा भोजपुर, धनकुटा र उदयपुरका बासिन्दाको जलयात्रा प्रभावित भएको छ ।