धनकुटा/धनकुटा बहुमुखी क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरू सोमबारदेखि चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।

लामो समयदेखि आंशिक दरबन्दीमा कार्यरत प्राध्यापकहरूले आफूहरूलाई क्याम्पस प्रशासनले करार सेवामा लैजानका लागि आवश्यक पहल गनुपर्ने भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएको सोमबार धनकुटामा आयोजित पत्रकार सम्मेलनमा बताइएको छ । आंशिक प्राध्यापकहरूले विज्ञप्तिमा जनाएअनुसार लामो समयदेखि अनवरत आंशिक प्राध्यापकको रूपमा अध्यापन गराउँदै आएको, श्रमको सही मूल्याङ्कन नगरिएको, पेशागत सुरक्षाको ग्यारेण्टी नभएको र क्याम्पसको सिङ्गो व्यवस्थापन सङ्कायमा नै आंशिक प्राध्यापकहरूले अध्यापन गरिरहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

धनकुटा बहुमुखी क्याम्पस आंशिक प्राध्यापक समितिका अध्यक्ष दिनेश अधिकारी र सचिव रमेश श्रेष्ठद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा आंशिक प्राध्यापकहरूको समस्या बारम्बार राख्दासमेत क्याम्पस प्रशासनबाट उचित सुनुवाइ नगरिएको कारण बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताइएको छ ।

घोषणा गरिएका आन्दोलनका कार्यक्रमहरूमा आज (मङ्गलबार) बिहानी र दिवा सत्रमा पेन डाउन गर्ने, बुधबार क्याम्पसका सम्पूर्ण प्राध्यापकहरूको बिहानी र दिवा सत्रमा पेन डाउन गर्नेलगायतका पहिलो चरणका कार्यक्रमहरू रहेका छन् ।

यसैगरी दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरूमा फागुन १९ गते सम्पूर्ण आंशिक प्राध्यापकहरूको बिहानी र दिवा सत्रमा पेन डाउन गर्ने, फागुन २० गते मङ्गलबार क्याम्पस प्रमुखको कार्यकक्षमा एक दिने तालाबन्दी गर्ने र फागुन २१ गते बुधबार सम्पूर्ण आंशिक प्राध्यापकहरूको बिहानी र दिवा सत्रमा पेन डाउन गर्नेलगायतका आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिएको छ । यसअघि क्याम्पस प्रमुखलाई विज्ञप्ति बुझाउने र क्याम्पसका विभिन्न सङ्घ÷सङ्गठन तथा प्राध्यापक सङ्घहरूलाई विज्ञप्ति बुझाउने कार्य सम्पन्न भइसकेको जनाइएको छ ।