भण्टाबारी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ स्थित जामियाँ सेयदना बेलाल राजिउल्लाह अनुह मदरसा भोक्राहाको आयोजनामा चेतनामूलक नाटक सम्पन्न भएको छ । मदरसाले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा मङ्गलबारदेखि शुक्रबारसम्म चारदिने शैक्षिक तथा सांस्कृतिक प्रतियोगिता आयोजना गरेको थियो ।
प्रतियोगितामा मदरसाका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरूले दाइजोप्रथा, बालविवाह, घरेलु हिंसालगायत सामाजिक विषयमा केन्द्रित भएर चेतनामूलक नाटक प्रदर्शन गर्नुका साथै तकरिर, नज्म, गजल, कुराआनको आयत प्रस्तुत गरेका थिए ।
प्रतियोगिता समापनको अवसरमा इस्लामिक हाजिरीजवाफ, इस्लाममा महिलाको स्थानसहितका बारेमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम तथा नाटकमार्फत् सन्देश दिएका थिए । प्रत्येक वर्षजस्तै यो वर्ष पनि मदरसाले आफ्नो वार्षिकोत्सवको अवसरमा शैक्षिक तथा सांस्कृतिक प्रतियोगिता आयोजना गरेको जामिया सेयदना बेलाल राजिउल्लाह अनुह मदरसा भोक्राहाका नाजिम (प्रअ) मौलाना शैफुदिन नदवीले जानकारी दिए ।
वार्षिक रूपमा आयोजना हुँदै आएको विभिन्न कार्यक्रमले मदरसाका विद्यार्थीहरूमा भएको प्रतिभा प्रदर्शन गर्नुका साथै सभ्य समाज निर्माण गर्न सन्देश दिने काम गरेको शैफुदिनको भनाइ छ । विविधतायुक्त देश नेपालका इस्लाम धर्मावलम्बी समाज र राष्ट्रप्रति सधैँ बफादार हुँदै सभ्य र शान्त राष्ट्र निर्माणमा योगदान दिँदै आएको शैफुदिन बताउँछन् ।
सरकारी स्कुलको तुलनामा सेवासुविधाको हिसाबले मदरसालाई निकै पछाडि पारिएको बताउँदै कार्यक्रमका वक्ताहरूले त्यसका बावजुद पनि मदरसाका विद्यार्थीहरूले देखाएको प्रतिभा तारिफयोग्य रहेको बताएका थिए ।