बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सहयोद्धा धर्मप्रसाद घिमिरेलाई भारतको पश्चिम बङगालको बागडोगरामा मृत अवस्थामा भेटिएको छ । घिमिरेलाई सवारीसाधनले ठक्कर दिएर मृत्यु भएको अवस्थामा भारतीय प्रहरीले फेला पारेको हो ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी राजेन्द्र पोखरेलका अनुसार मंगलवार विहानको राति बागडोगराको प्रहरी कार्यालयभन्दा ३ किलोमिटर पश्चिम एसियन हाइवेमा उनलाई मृत अवस्थामा भारतीय प्रहरीले फेला पारेको थियो । मेचीनगर–१३ दुहागढी घर भएका उनी विगत ८ वर्ष अघिदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको पारिवारिक स्रोतले बताएको छ ।
तीन दिनअघि दाह्री काट्न घर नजिकैको चारआली बजार जान्छु भनेर घरबाट बाहिरिएका उनी त्यसपछि बेपत्ता भएका थिए । घिमिरे बेपत्ता भएपछि परिवारले प्रहरीमा खोजतलासका लागि अनुरोध गर्नुका साथै आफन्तको घरतिर सोधखोज गरेको बताएको छ ।
घिमिरेको शब बागडोगरा मेडिकल कलेजमा राखिएको र नेपालबाट गएर मृतकका भाइ नरेन्द्रले शब पहिचान गरेको डिएसपी पोखरेलले जानकारी दिए । वि. सं. २०२३ सालदेखि कम्युनिस्ट आन्दोलनमा लागेका ७५ वर्षीय घिमिरे २०६४ सालको संविधानसभा चुनावमा झापा क्षेत्र नं. १ मा तत्कालीन नेकपा माओवादीका तर्फबाट सभासद्मा निर्वाचित भएका थिए ।
झापा विद्रोहका अगुवा
बिक्रम सम्वत् २०२८ /२९ सालमा भएको झापा विद्रोहका क्रममा पक्राउ परेका घिमिरेले ९ वर्ष तत्कालिन शासकको चरम यातनासहित जेलको सजाय भोगेका थिए । झापाका बिद्रोहीले गरेको चर्चित नख्खु जेलब्रेक गर्नेहरु मध्ये उनी एक थिए । पञ्चायती शासकद्वारा उनी प्रधानमन्त्री केपी ओलीसँगै जेल बसेका थिए ।
उनी एसियन हाइवेमा अज्ञात गाडीले ठक्कर दिएर दुर्घटनामा परेको र घटनास्थलमै उनको मृत्यु भएको भारतीय प्रहरीबाट जानकारी आएको डिएसपी पोखरेलले बताए । मृतक घिमिरेका पत्नी, एक छोरा र दुई छोरी छन् ।