धनकुटा/ ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका वडा नं.४ घर भएका २२ वर्षीय सविन शेर्पाको लोकसेवाको परीक्षा दिन धनकुटा आउने क्रममा शनिबार बिहान मृत्यु भएको छ ।
जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा शनिबार बिहान १० बजे उनको मृत्यु भएको हो । शेर्पा लोकसेवाले लिने नासु तहको परीक्षा दिन शुक्रबार काठमाडौंबाट धनकुटा आएका थिए ।
मृतक शेर्पा शुक्रबार अपरान्ह ३ बजे धनकुटाको आयुषा होटलमा आएर बास बसेका थिए । उनीसँगै जुम्ला कनका सुन्दरी गाउँपालिका वडा नं.२ घर भएका पेश्कलविक्रम रावत, सुर्खेत वराहताल गाउँपालिका वडा नं.७ घर भएका किरण घर्तीमगर र पर्सा जिल्ला बहुदरभाइ गाउँपालिका वडा नं.५ घर भएका सरोजकुमार साह होटलमा सँगै बास बसेका थिए ।
मृतक शेर्पा शनिबार बिहान ९ बजे लोकसेवाको परीक्षा दिन निस्कने क्रममा एक्कासि बिरामी परेको उनीसँगै होटलमा बसेका पर्साका सरोजकुमार साहले बताए । परीक्षा दिन जानको लागि कपडा लगाउने क्रममा शेर्पा ढल्न लागेपछि आफूहरूले हतार हतार समाएर जिल्ला अस्पताल धनकुटाको आकस्मिक कक्षमा पु¥याएर उपचार गरेको साहले बताए ।
साहसँग भने मृतक शेर्पाको यस अघि लोकसेवाले लिएको परीक्षा दिन इलाम जाने क्रममा चिनजान भएको बताइएको छ । मृतक शेर्पाको शव जिल्ला अस्पताल धनकुटामा राखिएको छ । मृतकका दाजु मिङ्मा शेर्पाले सविन मुटुरोगी भएको र मुटुको भल्भको अपरेसन गर्ने तयारी हुँदाहुँदै दुःखद् घटना भएको बताएका छन् ।