इनरुवा/ चैत्र ६ गतेबाट शुरु हुने एसर्ईई परीक्षामा सुनसरीबाट १३ हजार ६९ जना विद्यार्थी सामेल हुँदै छन् । परीक्षाका लागि सुनसरीमा ४८ वटा परीक्षा केन्द्र तोकिएका छन् ।
शिक्षा विकास तथा समन्वय एकाई सुनसरीका अनुसार यस पटकको एसईई परीक्षामा नियमिततर्फ १२ हजार ७ सय २६ र अपग्रेडतर्फ ३ सय ४३ जना परीक्षार्थी सहभागी हुँदै छन् ।
कार्यालयका अनुसार नियमिततर्फ सामुदायिक विद्यालयका ६ हजार ६ सय ३६ विद्यार्थीले परीक्षा दिँदैछन् । त्यसैगरी सुनसरीमा रहेका संस्थागत विद्यालयहरूबाट नियमिततर्फ ६ हजार १ सय ५९ परीक्षार्थी एसईईमा सहभागी हुँदै छन् । परीक्षामा सामेल हुने नियमित प्राविधिकतर्फको विद्यार्थी सङ्ख्या २ सय ३१ रहेको छ । शिक्षा विकास तथा समन्वय एकाई सुनसरीका प्रमुख रमेशबहादुर दाहालका अनुसार जिल्लाबाट अपग्रेड तर्फ परीक्षामा सहभागी हुनेमा सामुदायिकतर्फ ३ सय १६ जना छन् ।
त्यसैगरी संस्थागततर्फका २६ र प्राविधिकतर्फ १ जना विद्यार्थीले अपग्रेडतर्फ परीक्षा दिने दाहालले बताए । कार्यालयका अनुसार १ सय ३ सामुदायिक विद्यालय, १ सय ८३ संस्थागत र प्राविधिकतर्फका ८ विद्यालयमा अध्ययनरत विद्यार्थी सुनसरीबाट एसईईमा सहभागी हुँदै छन् । परीक्षा दिनेमा ७ जना दृष्टिविहीन र २ जना कैदीबन्दी रहेको शिक्षा विकास तथा समन्वय एकाई सुनसरीले जनाएको छ ।
कार्यालयका शाखा अधिकृत निर्मल निरौलाका अनुसार ४८ वटा परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक र कार्यालय सहयोगीसहित १ हजार १ सय ८४ जनशक्ति परिचालन हुँदैछन् । निरौलाका अनुसार परीक्षाको सुरक्षार्थ ७ सय २० सुरक्षाकर्मी खटिँदै छन् । शिक्षा विकास तथा समन्वय एकाई सुनसरीले जनाएअनुसार परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन चुस्त र दुरुस्त अनुगमनको बन्दोबस्तसमेत मिलाइएको जनाएको छ ।
जिल्ला तहको अनुगमन टोलीको अलावा सम्बन्धित गाउँपालिकाका प्रमुख, उपप्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखाका अधिकृत तहको कर्मचारीले परीक्षा केन्द्रहरूको अनुगमन गर्ने व्यवस्था मिलाएको कार्यालयले जनाएको छ । कार्यालयले भीडभाडभन्दा पनि प्रतिनिधिमूलक तवरले अनुगमनको व्यवस्था मिलाएको जनाएको छ । कार्यालयले सुनसरीमा एसईईको आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको समेत जनाएको छ ।
यसैबीच शिक्षा विकास तथा समन्वय एकाई सुनसरीले सम्भावित कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सावधानी अपनाउन लागिएको जनाएको छ । एकाई प्रमुख दाहालका अनुसार सुनसरीका सबै परीक्षा केन्द्रमा उचित सरसफाइदेखि हेल्थ डेस्कको व्यवस्था रहनेछ ।
कार्यालयले स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्कको व्यवस्था मिलाउन सबै स्थानीय तहलाई परिपत्र गरिसकेको जनाएको छ । स्थानीय तहहरूलाई आफूपायकका परीक्षा केन्द्रमा स्वास्थ्यकर्मीसहितको बन्दोबस्त मिलाउन आग्रह गरिएको एकाई प्रमुख दाहालले जानकारी गराए । दाहालले परीक्षार्थी स्वयम्लाई सचेत र सजग रहन आग्रहसमेत गरेका छन् ।