विराटनगर/ यस वर्षको एसईई परीक्षामा १ नम्बर प्रदेशबाट ८४ हजार १ सय ६ जना विद्यार्थीले परीक्षा दिने भएका छन् । विश्वभरि फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न परीक्षा केन्द्रमा हेल्थ डेस्क राखी (भोलि) बिहीबारदेखि शुरू हुने एसईई परीक्षामा प्रदेश १ मा ३ सय ७५ वटा परीक्षा केन्द्र तोकिएको छ ।

एसईई परीक्षा दिने प्रदेश १ मा सबैभन्दा बढी विद्यार्थी मोरङका रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयका शैक्षिक योजना तथा अनुसन्धान महाशाखा प्रमुख दिव्यराज कट्टेलले जानकारी दिए । उनका अनुसार मोरङबाट यस पटक १८ हजार ८ सय २१ जना परीक्षामा सामेल हुँदैछन् । मोरङबाट नियमिततर्फ प्राविधिक धारका ४ सय ४६ जना परीक्षाले कविर मा.वि. बेलबारी र आदर्श मा.वि. विराटनगरमा परीक्षा लेख्नेछन् । मोरङमा ७० वटा केन्द्र तोकिएको छ । प्रदेशमा सबैभन्दा कम सोलुखुम्बुबाट परीक्षा दिँदैछन् । सोलुखुम्बुमा १४ वटा केन्द्रबाट १ हजार ८ सय ३४ जनाले परीक्षा दिने मन्त्रालयले जनाएको छ ।

प्रत्येक केन्द्रमा १५ जना सुरक्षाकर्मी सुरक्षाका लागि खटिनेछन् । प्रदेशभरि ३ सय ७५ केन्द्राध्यक्षसहित ५ सय ४२ सहायक केन्द्राध्यक्ष तोकिएको छ । केन्द्राध्यक्षसहित प्रश्नपत्र सम्बन्धित केन्द्रनजिकको सुरक्षा केन्द्रसम्म पठाइसकिएको शिक्षा एकाई तथा समन्वय समिति मोरङका प्रमुख दीर्घध्वज चापागाईंले बताए ।

यस पटक प्रत्येक परीक्षा केन्द्र रहेको विद्यालयमा हेल्प डेस्कसहितको स्वास्थ्यकर्मी समेत परिचालन गरिने बताइएको छ । विद्यार्थीहरूलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रहरूमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्ध मिलाइने भएको हो । कुनै विद्यार्थीमा स्वास्थ्य समस्या देखिए स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गर्नेछन् । परीक्षामा सामेल हुन नसक्ने अवस्था आए तत्काल अस्पताल पु¥याउने प्रबन्धसहित परीक्षा केन्द्रहरूमा व्यवस्थापन मिलाइएको हो ।

जिल्ला परीक्षा समन्वय समितिले स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र सम्बन्धित शिक्षा शाखाका अधिकृतलाई परीक्षा अनुगमनका लागि अनुरोध गर्ने निर्णय गरेको छ । त्यसबाहेक जिल्ला समन्वय समिति र शिक्षा एकाईबाट तोकिएका अधिकृत परीक्षाको अनुगमनमा खटिनेछन् । स्थानीय तहले स्वास्थ्य विज्ञसहित स्वास्थ्य समन्वय समिति बनाएका छन् । परीक्षा केन्द्रमा हेल्थ डेस्क राखेर विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने प्रबन्धसमेत मिलाइएको छ ।