पाँचथर / पाँचथरमा एसइइ परीक्षा हुने सबै केन्द्रमा हेल्प डेक्स र आइसोलेसन कक्षको ब्यवस्था गरिएको छ ।
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइसर (कोभिड १९) लाई लक्षित गरी यस्तो ब्यवस्था गरिएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख युगमणी सबेहाङले बताए । छिमेकी मुलुक चीनबाट सुरु भएको कोरोना भाइरसले विश्वभर महामारीको रुप लिंदै गएकाले स्वास्थ्य सतर्कता अपनाउन सबै परीक्षा केन्द्रमा हेल्प डेक्स र आइसोलेसन कक्षको ब्यवस्था गरिएको सवेहाङको भनाई छ । कुनै परीक्षार्थीमा स्वास्थ्य समस्या देखिएमा उपचार र सहयोग गर्न सहज होस भन्ने उद्देश्यले हेल्प डेक्स र आइसोलेशन कक्ष राखिएको हो ।
यस बर्षको एसइइ परीक्षा बिहीबार देखि सुरु हुँदैछ । यव बर्षको एसइइ परीक्षाका लागि जिल्लामा २० वटा परीक्षा केन्द्र तोकिएका छन् । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार यस बर्ष पाँचथरबाट नियमिततर्फ तीन हजार ६१० परिक्षार्थी परिक्षामा सहभागि हुनेछन् । जसमध्ये २७ जना प्राबिधिक धारतर्फका रहेका छन् । ग्रेड बृद्धि तर्फ २१५ जना परिक्षार्थीले सहभागिता जनाउनेछन् । जिल्लाबाट कूल तीन हजार ८२५ जना बिद्यार्थी एसइइ परीक्षामा सामेल हुनेछन् ।
बिहान ८ बजेदेखि परिक्षा सुरु हुनेछ । पहिलो दिन अनिबार्य अंग्रेजी बिषयको परीक्षा हुनेछ ।