धनकुटा/ धनकुटामा विगत ७ वर्षदेखि सञ्चालनमा रहेको निजामती आवसीय विद्यालयको ८ कोठे पक्की भवनको निर्माण कार्य सम्पन्न भएको छ ।

करिब १५ करोडको लागतमा बन्दै गरेको ३ तले पक्की भवनको प्रतिनिधिसभाका माननीय सांसद राजेन्द्रकुमार राईले गएको जेठ महिनामा औपचारिक रूपमा शिलान्यास गरेका थिए । वि.सं.२०६६ सालमा निजामती आवसीय विद्यालय धनकुटामा राख्ने भनी सामान्य प्रशासन मन्त्रालयले तत्कालीन क्षेत्रीय प्रशासक जनार्दन नेपालको पालामा सरकारले स्वीकृत गरेपनि ०७० साल भाद्रबाट मात्र विद्यालय सञ्चालनमा आएको थियो ।

निजामती कर्मचारीका छोराछोरीलाई सहुलियत दरमा पठनपाठन गराउने उद्देश्यले स्थापना गरिएको निजामती आवसीय विद्यालयमा हाल कक्षा १० सम्म पठनपाठन भइरहेको छ । विद्यालयमा हाल करिब ३ सय ५० विद्यार्थी अध्ययनरत रहेका छन् ।

आर्थिक वर्ष ०७५÷०७६ मा भवन निर्माणको लागि ३ करोड रुपैयाँ विनियोजन भई आएकोमा बोलपत्र आह्वान गर्दा कार्की बन्धु शशिधर जेभी विराटनगरले २ करोड, २० लाख रुपयाँमा ८ कोठे पक्की भवनको निर्माण कार्य सम्पन्न गरेको धनकुटा नगरपालिकाका इन्जिनियर मिङमा दोर्जे शेर्पाले बताएका छन् ।

विनियनेजन भई आएको ३ करोडमध्ये २ करोड, २० लाख रुपैयाँ खर्च भएर बचेको ८० लाख रुपैयाँ मन्त्रालयमा नै फिर्ता गएको इन्जिनियर शेर्पाले बताए । इन्जिनियर शेर्पाका अनुसार ३ तले पक्की भवनको पहिलो र दोस्रो तलामा पठनपाठन कक्षा सञ्चालन गर्नको लागि ठूला ठूला ८÷८ वटा कोठा यो वर्ष निर्माण भइसकेका छन् ।

भवनको सिरान तलामा अत्याधुनिक सेमिनार हल, स्टाफ रोम र प्रिन्सिपलको कार्यकक्षको लागि क्रमागत रूपमा भवन निर्माण हुने विद्यालयका प्रिन्सिपल सुरेश काफ्लेले ब्लाष्टलाई बताए । भवन निर्माण गर्ने कार्यअवधि ३ वर्षको भए पनि चालु आर्थिक वर्ष ०७६÷०७७ मा थप भवन निर्माणको लागि ३ करोड ५० लाख रुपैयाँ सङ्घीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गसिकेकाले सोही अनुरूपको कार्ययोजना तय भइरहेको प्रिन्सिपल काफ्लेले बताए ।

थप भवन निर्माणको लागि चाँडै नै आवश्यक प्रक्रिया अघि बढाइने पनि उनले बताएका छन् । निजामती आवसीय विद्यालयमा पक्की भवन निर्माण भएसँगै अस्थायी रूपमा टिनको छाना मुनि बसेर विद्यार्थीहरूले पढ्नुपर्ने बाध्यताको अब सदाको लागि अन्त्य हुने भएको छ ।