धरान । धरानको केके इन्टरनेशनल स्कुलले आजबाट ‘अनलाइन अध्यापन’ शुरु गरेको छ ।

स्कुलले आइतबारबाट कक्षा १० का नयाँ विद्यार्थी र एसईई दिन लागेका विद्यार्थीहरूलाई चार वटा विषयमा अनलाइन अध्यापन थालेको हो । एसईई दिइरहेका विद्यार्थीहरूलाई अध्ययन गरिसकेको विषयमा ‘रिभाइज’ गराइरहेको छ भने नयाँ विद्यार्थीहरूलाई कक्षा १० को पाठ्यक्रमको विषयमा जानकारी गराइएको स्कुलका सञ्चालक समितिका अध्यक्ष प्रवीण अग्रवालले जानकारी दिए ।

उनका अनुसार पहिलो दिन कक्षा १० का ३० जना विद्यार्थीहरू सहभागी बनेका थिए । भोलिबाट कक्षा ८ र ९ का विद्यार्थीहरूलाई पनि सामेल गराएर अध्यापन थालिने भएको छ । अङ्ग्रेजी, गणित, विज्ञान र नेपाली कक्षाको विषयमा ज्ञान दिइरहेको हो । विद्यार्थीहरूसँगको इन्टरनेट पहुँचका आधारमा ‘जुम क्लाउड मिटिङ एप’ बाट अध्यापन गराइरहेको हो ।

सरकारले कोरोनाभाइरसका कारण लकडाउन गरेपछि शैक्षिक संस्थाहरू बन्द छन् । यतिबेला शैक्षिक संस्थाहरूले रिजल्ट प्रकाशित गरेर भर्नाको अभियान शुरु गर्ने गरेका थिए । तर, लकडाउनका कारण विद्यार्थी भर्नासहित पठनपाठन नियमित हुन सकेको छैन । यो लकडाउन अझै केही साता लम्बिने भएको छ । यसबीचमा विद्यार्थीहरूलाई विषयगत ज्ञान दिनका लागि केके स्कुलले अध्यापन थालेको उनले जानकारी दिए ।

धरान–१५ मा स्थापित केके स्कुलले एसईई दिइरहेका विद्यार्थीहरूलाई ‘रिभाइज’ गराइरहेको छ । अब चाँडै बालकक्षाबाट कक्षा १० सम्म नै अनलाइन अध्यापनको तयारी केकेले गरिरहेको जनाइएको छ ।