धरान । धरान–३ भृकुटीपाखामा एक युवाले दुई युवामाथि खुकुरी प्रहार गरेका छन् । मंगलबार राति साढे ८ बजेतिर विजय तामाङले स्थानीय दुई युवामाथि खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
उनका अनुसार सानो खाल्को खुकुरीले प्रहार गर्दा सोही स्थानका २५ वर्षीय उत्तम तामाङ र २४ वर्षीय सन्दीप तामाङ सामान्य घाइते बनेका छन् । त्यसक्रममा उत्तमको कम्मरको पछाडिको भागमा प्रहार भएको छ भने उनलाई विजयपुर हस्पिटलमा उपचारका लागि पठाई उपचारपछि डिस्चार्ज भइसकेका छन् । त्यस्तै सन्दीपको दायाँ छाती र बायाँ कम्मरको भागमा प्रहार गरिएकाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार पछि डिस्चार्ज गरिसकिएको छ ।
मोबाइल ज्याकेटी राखेको विषयमा भएको विवादका कारण विजयले दुई युवामाथि खुकुरी प्रहार गरेका थिए । उनीहरू दैनिक रोजगारी गर्दै आएका व्यक्ति हुन् । विद्युत् मर्मतको काम गर्ने गरेका थिए । खुकुरी प्रहारमा संलग्न विजयलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढिरहेको इप्रका धरानका डिएसपी न्यौपानेले जानकारी दिए ।