विराटनगर/लकडाउनले गर्दा घरमा बसेका विद्यार्थीहरूलाई लक्षित गरी विराटनगरमा दूरशिक्षा कक्षा सञ्चालन गरिने भएको छ ।
विराटनगर महानगरपालिको आयोजना र निजी संघसंस्थाको सहयोगमा टेलिभिजन र एफएमबाट प्रत्यक्ष प्रशारण गरी दूर कक्षा सञ्चालन गरिने भएको हो । महानगरले प्याब्सन विराटनगर, हिसान मोरङ, ऐन प्याब्सन मोरङ र नेपाल शिक्षक महासंघसँगको सहकार्यमा बिहीबारदेखि दूरशिक्षा कक्षा सञ्चालन गर्ने भएको छ । मकालु टेलिभिजन र रेडियो पूवेर्ली आवाज ९८ थोप्ला ४ मेगाहर्जबाट दैनिक ५ घण्टा कक्षा संचालन हुनेछ । उक्त रेडियोमा कक्षा ६ देखि १० सम्म अंग्रेजी र नेपाली विषयको कक्षा सञ्चालन हुने कार्यक्रम संयोजक तथा प्याब्सन विराटनगरका सचिब अर्जुन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार टिभीबाट गणित, विज्ञान र सामाजिक विषयको पढाइ हुनेछ । अंग्रेजी र नेपाली बिषय एफ एमबाट हुनेछ । बैशाख २५ देखि टेलिभिजनमा बिहानमा ११ बजेदेखि साढे १ बजेसम्म र एफएममा दिउँसो २ देखि साढे ४ बजेसम्म पढाइ हुनेछ । राज्यले कोरोना भाइरसबाट बच्न लकडाउन गरिएकोले घरमा बसेका विद्यार्थीहरूलाई पठनपाठनमा अभिरुची बढाउन दूरकक्षा सञ्चालन गरिने शैक्षिक प्रशासन महाशाखा विराटनगरका नगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाले जानकारी दिए ।
अहिलेलाई एक महिनाको दूरशिक्षा संचालन गरिएको भए पनि आवश्यकता अनुसार थप गर्दै लगिने महानगरको योजना रहेको खतिवडाको भनाइ छ । दूरशिक्षाको पठनपाठन निजी तथा सामुदायिक विद्यालयहरूका विषयगत विज्ञ शिक्षकहरूबाट हुने कार्यक्रमका अर्का संयोजक तुलसी दुलालले जानकारी दिए ।