धरान । भारतले कोरोना भाइरसको बावजुद पनि १० र १२ कक्षाको परीक्षाको मिति सार्वजनिक गरेको छ ।

केन्द्रीय माध्यामिक शिक्षा बोर्ड (सीबीएसई) ले बाँकी रहेका १० र १२ कक्षाको परीक्षाको मिति तय गरेको सार्वजनिक गरेको छ । सीबीएसईका अनुसार जुलाई १ देखि १५ जुलाईसम्म परीक्षा हुने भएको हो । एचआरडी मन्त्री रमेश पोखरियालले ट्वीट गर्दै उनले लामो समयदेखि रोकिएको सीबीएसईको परीक्षाको घडी अब समाप्त भएको बताए । उनले जुलाई १ देखि १५ सम्म परीक्षा गरिने भएकाले विद्यार्थीहरूलाई परीक्षाको तयारी गर्नका लागि आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘सबै विद्यार्थीहरूलाई म शुभकामना दिन चाहन्छु । परीक्षाको मिति निर्धारित गरिएको छ । परीक्षामा सामेल हुने विद्यार्थीहरूले अब तयारीका लागि आग्रह गर्न चाहन्छु ।’

भारतमा ८८ विषयको परीक्षा कोरोना लकडाउनका कारण स्थगित भएको थियो । तर, सीबीएसईका अनुसार २९ वटा मुख्य विषयमा परीक्षा लिने तयारी भएको छ । भारतमा कोरोना भाइरसका कारण ५९ हजार ६४२ जना संक्रमित बनेका छन् भने हालसम्म १ हजार ९८५ जनाको मृत्यु भइसकेको छ । लकडाउनका बीच पनि भारतले परीक्षा गर्ने तयारी गरे पनि नेपालमा भने रोकिएका एसईई, कक्षा १२ को परीक्षा, स्नातक, स्नातकोत्तर, एलएलबीका परीक्षाका मिति तय गरेको छैन ।

नेपालमा हालसम्म १ सय २ जनामा कोरोना संक्रमण देखिएको छ भने त्यसमध्ये ३० जना उपचार भई निको भएका छन् । निको हुनेमध्ये ३ जनामा पुनः कोरोना पुष्टि भएपछि उनीहरूलाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ । नेपालमा हालसम्म कोरोना कारण एक जनाको पनि ज्यान गएको छैन ।