पथरी । संस्थागत र सरकारी विद्यालयको वार्षिक परीक्षाको नतिजा आफ्नो सामाजिक सञ्जालमार्फत निकाल्न शिक्षा शाखाले अनुरोध गरेको छ ।
मोरङको कानेपोखरी गाउँपालिका क्षेत्र भित्रका विद्यालयहरूलाई गाउँपालिका शिक्षा शाखाले परीक्षाफल प्रकाशन गर्न आग्रह गरेको हो । शिक्षा शाखाका स्रोत व्यक्ति प्रेम कार्कीले कोरोना भाइरसको महामारीको कारण देशमा भएको लकडाउनले शिक्षा क्षेत्र पनि ठूलो क्षति भएको बताए । यस २०७७ को शैक्षिक सत्र कहिलेदेखि सुरु हुने भन्ने बारेमा अन्योल रहेकाले विद्यालय आफू तयारी रहन वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न आवश्यक रहेको उनले बताए ।
कानेपोखरी क्षेत्रभित्र १९ वटा संस्थागत र २३ वटा सरकारी विद्यालयहरू रहेका छन् । परीक्षाको नतिजा केही संस्थागत विद्यालयले यसअघि नै फेसबुक पेजमार्फत प्रकाशित गरिसकेका छन् ।
यसअघि सरकारी विद्यालयले सरकारले तोकेको मितिमा परीक्षा गराएका थिए भने संस्थागत विद्यालयहरूले आफूखुसी परीक्षा गरेका थिए । केही संस्थागत विद्यालयले एउटा विषयको मात्र परीक्षा गराएका थिए । कसैले अन्तिम दिन २ देखी ३ वटा विषयको परीक्षा गरी सम्पन्न गरेका थिए ।
ढिलो सुरु गरेको परीक्षा गाउँपालिकाले रोकेको थियो । परीक्षा नै नभएको विद्यालयले परीक्षाको नतिजा कसरी निकाल्ने रहेछ भन्ने चाहिँ हेर्न बाँकी छ ।