पथरी । मोरङको पथरीशनिश्चरे–१ मा रहेको अन्नपूर्ण अंग्रेजी माध्यमिक विद्यालय संचालनको लागी नयाँ टिमले जिम्बेवारी लिएको छ । यसै शैक्षिक सत्र देखि सुरु हुने गरी पथरीशनिश्चरेका ६ जनाले विद्यालय संचालन गर्ने जिम्मेवारी लिएको हो ।
विद्यालयमा पथरीशनिश्चरेका युवा व्यवसायी÷समाजसेवी भुवन सिंह लिम्बु, संसार थेवे, नारायण कटेल, नरेश कुमार राई, पर्शु मिश्र र मनोज मगर लगाएतले विद्यालय खरिद गरे पछि व्यवस्थापन र संचालनको जिम्मेवारी पाएका हुन । पूर्व संचालकले विद्यालयको आफ्नो आन्तरिक समस्याका कारण देखाउदै केही दिन अगाडि २०७७ सालबाट विद्यालय बन्द गर्ने सूचना सार्वजानिक गरेपछि स्थानीय जना युवा मिलेर खरिद गरेको संचालक मध्यका भूवनसिंह लिम्बुले बताए ।
२०४८ सालमा स्थापना भएको सो विद्यालयमा धेरै विद्यार्थीको भविष्य जोडिएकोले संस्थालाई निरन्तर अगाडि बढाउन नयाँ टिम आएको अर्का लगानी कर्ता संसार थेवेले बताए । हाल यस विद्यालयमा ५ सय विद्यार्थी रहेका छन् । विद्यालय बन्द हुने हल्लाले सो विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक र शुभचिन्तकहरु निक्कै नै चिन्तित बनेका थिए । विद्यालयका बारेमा संचालकहरुले भने ‘साविककै भवनमा, पहिलेदेखि कै शिक्षक, कर्मचारी तथा अभिभावकहरुका साथमा नयाँ व्यवस्थापनमा हामी अघि बढ्छौं ।’ उनले भने–‘हामी हल्लाको पछि कुद्ने छैनौं, जति सक्दो गुणस्तरीय शिक्षा नै हाम्रो मुख्य प्रतिवद्धता रहनेछ ।’ लकडाउन खुल्ने बित्तिकै विद्यालय संचालनमा ल्याउने भएकाले विद्यार्थीहरुलाई तयारीका साथ बस्न भुवनसिंह लिम्बुले अनुरोध गरे ।
विद्यार्थी र अभिभावकले विद्यालयको विषयमा केही जानकारी लिनुपरेमा विद्यालयको प्रशासन फाट अहिले खुल्ला नै रहने बताइएको छ । टिमले विद्यालय संचालन गर्ने जिम्मेवारी तोकेको छ । अध्यक्षमा भुवनसिंह लिम्बु, निर्देशकमा संसार थेवे, प्रिन्सिपलमा नारायण कटेल, एकेडेमिक इन्चार्ज नरेशकुमार राई, संयोजक मनोज मगर र सल्लाहकार पर्शु मिश्र रहेका छन् । उनिहरु अहिले विद्यार्थीको घरघरमा सामाजिक दुरी कायम गर्दै आफुहरुले विद्यालय लिएको र विच्चली नहुन अनुरोध गर्दै आएको छ ।