पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ स्थित बुद्ध माध्यामिक विद्यालयको भवन निर्माणका लागि संघीय सरकारबाट क्रमागत रूपमा ५ करोड रुपैयाँ अनुदान प्राप्त हुने भएको छ ।
सोही विद्यालय अध्ययन गरी हाल समाजसेवाको क्षेत्रमा सक्रिय नवीनजङ्ग कार्कीको पहलमा आगामी आर्थिक वर्षको लागि बहुवर्षीय योजना अन्तरगत भवन निर्माणका लागि संघीय सरकारको तर्फबाट विशेष अनुदान स्वरूप १ करोड ७५ लाख रुपैयाँ विनियोजन भएको विद्यालय व्यवस्थापन समितिका सदस्य तेजिन्द्र पाण्डे (रमेश) ले जानकारी गराए ।
सुबिधायुक्त भवनको अभाव ब्यहोरिरहेको विद्यालयले सो योजना लागू भएपछि भने निकै ठूलो उपलब्धि हासिल गर्ने विद्यालयका प्रधानाध्यापक बोधराज सिग्देलले बताए । सो विद्यालय २०२४ सालमा स्थापना भएको हो ।
यस योजनाको पहलका लागि युवा समाजसेवी कार्कीको नेतृत्वमा गत माग ९ गते प्रधानाध्यापक बोधराज सिग्देल र युवा नेता सन्तोष बान्तवाको टोली संघीय राजधानी काठमाण्डौं गएको थियो । टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, अर्थमन्त्री युवराज खतिवडालगायतलाई भेटी विद्यालय भवनको समस्या दर्शाएको थियो ।

बौद्धिक अपांगता भएकाहरूको भवनमा १ करोड....
यसैबीच, पथरी शनिश्चरे १ स्थित पञ्चायत माविमा सञ्चालित बौद्धिक अपाङ्ता भएकाहरूको कक्षा तथा उनीहरूको बसोबास व्यवस्थापनका लागि अपाङ्गतामैत्री भवन निर्माण हुने भएको छ ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा कार्यालयको १ करोड रुपैयाँको सहयोगमा बन्ने सो भवनको नगर प्रमुख दिलीपकुमार राईले शिलान्यास गरेका छन् । नगर प्रमुख राईले तिनै तहका सरकारले सीपसहितको शिक्षा प्रणालीमा जोड दिनुपर्ने बताए । उनले सीपसहितको गुणस्तरीय शिक्षामा जोड दिँदै आएको सो विद्यालयका लागि सवैको सहयोगमा बौद्धिक अपांगता भएकाहरूका लागि यसखाले कार्यक्रम प्राप्त भएको जनाए । सो विद्यालय निर्वाचन क्षेत्र नम्बर ३ को बौद्धिक अपांगता भएका बालबालिकाहरूका लागि पठनपाठनस्थल हो ।
विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीका अनुसार २ सय जना बौद्धिक अपांगता भएका बालबालिका अटाउने अपाङ्गतामैत्री भवन निर्माण हुनेछ । पहिलो योजना अन्तरगत भवन २ तलाको १६ कोठाको बन्ने छ । लकडाउनका कारण ढिलाइ भए पनि ५ वर्षे योजनाको नमूना विद्यालयको काम तीव्र गतिमा अघि बढेको र अपाङ्गतामैत्री भवनको काम पनि उसै गरी अघि बढ्ने उल्लेख छ ।