धरान । नगरसभाको तयारीमा लागिरहेको धरान उपमहानगरपालिकाको हिजो साँझ कार्यपालिका अवरुद्ध भएपछि एकाएक नगरसभा गर्न भनेर तोकिएको हल परिवर्तन गरेकाे छ ।
यसअघि सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा गर्ने भनेर तोकिएको थियो । हिजो साँझसम्म पनि नगरसभाका लागि सुनसरी उवासंघमा १ः०० बजे भेला हुनका लागि उर्दी जारी भएको थियो । तर, एकाएक हल परिवर्तन भएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटरियम हलमा गरिने भएको छ । कार्यपालिकाका सबै सदस्य तथा वडाध्यक्षहरूलाई नगरसभा अडोटरियम हलमा गर्ने भनी रातको ९ः०० सूचना आएको एक कार्यपालिका सदस्यले बताए । प्रशासकीय अधिकृतले सूचना प्रवाह गरेका थिए ।
‘खैं किन हो, योभन्दा अगाडि नगरसभाका लागि उद्योग वाणिज्य संघको हलमा हुने भनेर निश्चित गरिएको हो, हामीलाई हिजोसम्म १ बजे भेला हुने भनेर सूचना भएको हो, तर राति ९ बजेतिर हल परिवर्तन भएको म्यासेज आयो’–ती सदस्यले भने ।
निमित्त प्रशासकीय अधिकृत तथा शिक्षा महाशाखाका प्रमुख रत्नबहादुर कट्वालले आफूलाई पनि यो विषयमा सूचना आएपछि मात्रै ज्ञान भएको बताए । उनले भने, ‘उद्योग वाणिज्य संघमै गर्ने भन्ने मैले पनि जानकारी पाएको हो, तर राति मलाई पनि म्यासेज आएपछि मात्रै थाहा पाएँ । उहाँहरू (मेयर, उपमेयर) को निर्णय भएर नै यस्तो सूचना आएको होला ।’ प्रमुख प्रशासकीय अधिकृत पनि छुट्टिमा रहेका कारण हिजो मात्रै धरान आइपुगेका थिए ।
हिजो कार्यपालिकाको बैठकमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले वडागत विकास बजेट सिलिङप्रति असन्तुष्ट व्यक्त गरेका थिए । तर, नेकपाबाट निर्वाचित वडाध्यक्षहरूले कांग्रेसका वडाध्यक्षहरू बजेट सिलिङ च्यात्नेदेखि लिएर अश्लील शब्द प्रयोग गर्दै बैठक अवरुद्ध गरेको आरोप लगाएका छन् । नेकपाका वडाध्यक्षहरूले प्रेश विज्ञप्ति जारी गरेर नै मेयरले नैतिक रूपमा जिम्मेवारी लिएर माफी नमागिञ्जेलसम्म आफूहरू नगरसभाको बैठकमा उपस्थित नहुने बताएका थिए ।
यी घटना घटित हुनुले नै स्थान पनि परिवर्तन भएको हुन सक्ने अनुमान गरिएको छ । कतिले भने उवासंघको हल अन्य प्रयोजनका लागि बुकिङ भएकाले पनि स्थान परिवर्तन गरिएको हुन सक्ने अड्कल काटेका छन् तर, उवासंघका सदस्यहरूलाई बुझ्दा अन्य कसैले पनि हलका लागि बुकिङ नगरेको बताउँछन् । ‘हिजोसम्म नगरसभा गर्ने भनेर नै कुरा भइरहेको हो, अरूको लागि हल बुकिङ भएको छैन’–एक सदस्यले भने ।