विराटनगर/ मोरङको जहदा गाउँपालिका–५ सन्थाल बस्तीका ४० वर्षीय बिरजु टुडुको हत्या आरोपमा १५ वर्षीय छोरा पक्राउ परेका छन् । बाबुको हत्या आरोपमा सकल टुडु मङ्गलबार पक्राउ परेका हुन् ।

शनिबार राति बिरजुले श्रीमती शान्तीलाई कुटपिट गरेपछि सुतेको अवस्थामा छोरा सकलले बन्चरो प्रहार गरी आइतबार बिहान गम्भीर घाइते बनाएका थिए । उपचार गर्न विराटनगरस्थित विराट नर्सिङ होममा लगेको र उपचार गर्ने पैसा नभएपछि घरमा ल्याएका बिरजुको आइतबार साँझ मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । बाबुलाई गम्भीर घाइते बनाएपछि फरार भएका सकललाई प्रहरीले जोगवनीबाट पक्राउ गरेको हो ।

टुडुको घरमा शनिबार जेठी छोरी र ज्वाइँ पाहुना आएका थिए । खानपिन गरेपछि जेठी छोरी र ज्वाइँ अर्को घरमा सुत्न गएका थिए भने बिरजु आफ्नै घरको खाटमा सुतेका थिए । श्रीमती र छोराछोरीहरू भुइँमा सुतेका थिए ।

‘बिरजु सुत्ने खाटमा उनको दिदीको नातिले पिसाब गरिदिएको कारण श्रीमती शान्तीले ओछ्यानमा भएको कपडाहरू धोएर सुकाइदिएकी थिइन् । ‘तर, बिरजुले शान्तीलाई ओछ्यानमा पिसाब गर्न दिइस् भन्दै गालीगलौज गर्दै कुटपिट गरेका थिए’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले भने, ‘बाबुले आमालाई कुटेको छोराले देखेको रहेछ । आमालाई कुटेको रिस फेर्न आइतबार बिहान ५ बजेको समयमा बाबुलाई बन्चरो प्रहार गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।’

मृतक टुडुले श्रीमती शान्तीलाई यस अघि पनि बारम्बार कुटपिट गर्दै आएका थिए । ट्याक्टर चालक रहेका टुडुले श्रीमतीलाई कुटेको छोराले देख्ने गरेका थिए । आमालाई बाबुले कुटपिट गरी मार्ने र अर्को कान्छीआमा ल्याउने भएकोले बाबुको हत्या गर्ने मनसायले धारिलो हतियार प्रहार गरेको प्रहरीलाई दिएको बयानको क्रममा बताएका छन् ।

मृतककी श्रीमती दिसा गर्न बाहिर गएको अवस्थामा छोराले बाबुलाई बन्चरो प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । बन्चरो प्रहारबाट बिरजुको निधारमा गहिरो चोट लागेको थियो । बाबुको हत्यामा प्रयोग गरिएको बन्चरो घरनजिकैको पोखरीमा फालेका थिए । प्रहरीले मङ्गलबार पोखरीबाट बन्चरो फेला पारेको छ ।

बाबुको हत्या आरोपमा पक्राउ गरेको टुडुलाई मोरङ जिल्ला अदालतबाट मङ्गलबार कर्तव्य ज्यान मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।