विराटनगर /  प्रहरी संगठनको आचरण र नीति बिपरित काम गरेको पाइएपछि मोरङको विभिन्न मातहतमा रहेर काम गर्दै आएका ११ प्रहरी कारवाहीमा परेका छन् ।
मोरङको सिमा क्षेत्रमा खटिएका प्रहरीले संगठनको आचरण बिपरित काम गरेको पाइएपछि १ नम्बर प्रदेश प्रहरी कार्यालय र मोरङ प्रहरी कार्यालयमा झिकाएर अनुसान्धान सुरू गरिएको हो ।

७ जनालाई प्रदेश प्रहरी कार्यालय र ४ जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय मोरङमा झिकाएर अनुसन्धान सुरू भएको छ । डियुटिमा खटिएका ११ जना प्रहरीले संगठनको आचारण विपरित काम गरिएको जानकारी आएपछि उनीहरु माथि अनुसन्धान सुरू गरिएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

अनुसन्धान पछि कारवाहीको प्रक्रिया अगाडी बढाउने उनले बताए । प्रहरीले अनुसन्धानको दायरमा ल्याएको जुनियर प्रहरीदेखि जवानसम्मका प्रहरी छन् । जसमध्ये एक जना मोरङ प्रहरीका सादा पोषाकका प्रहरी पनि रहेको बुझिएको छ । उनीहरूको मध्ये कोहीको पनि तस्करीमा संलग्न व्यक्तिसँगको सम्र्पक देखिको पुष्टि भए निलम्बन गरि कारवाहीको प्रक्रिया अगाडी बढाउने एसपी खड्काले बताए । केहीलाई विभागीय कारवाही गरिने तयारी गरिएको छ ।

अन्तरदेशीय सीमा तस्करीमा डीउटीमा रहेका प्रहरीको संलग्नता देखिएको आशंकामा जिल्ला तानिएर अनुसन्धान सुरु गरिएको हो । भारतबाट अवैध रुपमा नेपालमा सामान भित्राउने कार्यमा सीमा क्षेत्रमा खटिने प्रहरीको संलग्नता हुनसक्ने भएकोले उनीहरु माथि अनुसन्धान सुरु गरिएको बुझिएको छ । इलका प्रहरी कार्यालय रानी मातहत रहेको ६ जना प्रहरी रहेका छन् । अन्य प्रहरी चौकी डोरिया र बुधनगर प्रहरी चौकीका प्रहरीलाई अनुसन्धानको लागि तानिएको छ । जनताको सेवामा खटिएका प्रहरीले गल्ती गरेको पाइए जोकोहीलाई पनि कारवाहीको दायरमा ल्याउने एसपी खड्काले बताए ।