विराटनगर / मानव स्वास्थ्यमाथि खेलवाड गर्दै म्याद गुज्रिएको औषधी विक्री गरेको आरोपमा पक्राउ परेका विराटनगर– ९ न्यूरो हस्पिटल अगाडीको हाम्रो फ्रेन्डसिप फार्मेसीका संचालक विकास मण्डल धरौटीमा छुटेका छन् ।
जिल्ला अदालत मोरङका न्यायधीश तेजबहादुर खड्काको इजलाशले मण्डललाई ३ लाख रुपैयाँ धरौटीमा छोडन आदेश दिएका हुन् । अदालतले तोकेको धरौटी रकम बुझाएर मण्डल तारेखमा छुटेको मोरङ अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।
गत १६ फागुनमा औषधी व्यवस्था विभाग विराटनगरले गरेको अनुगमनको क्रममा फ्रेन्डसिप फार्मेसीबाट १५ प्रकारको औषधी म्याद गुज्रिएको बरामद भएको थियो । औषधी व्यवस्था विभागका फार्मेसी अधिृकत चतुर्भुजप्रसाद यादवको नेतृत्वको टोलीले हाम्रो फ्रेन्डसिप फार्मेसीबाट म्याद सकिएको औषधी बरामद गरेपछि संचालक मण्डललाई पक्राउ गरेको थियो । पक्राउ परेका मण्डललाई हिरासतमा राखेर नेपाल औषधी व्यवस्था विभाग विराटनगरले अनुसन्धान पुरा गरेपछि अदालतमा अभियोग दायर गरेको थियो । अदालतमा अभियोग दर्ता भएपछि थुनछेक बहसपछि आएको आदेशले मण्डल छुटेका हुन् । मण्डललाई औषधी ऐन २०३५ को दफा १८ बमोजिम कारवाहीको प्रक्रिया अगाडी बढाएको थियो ।
फ्रेण्डसिप फार्मेशीले म्याद सकिएको औषधीमा लेबल लगाएर नयाँ मिति जारी गरि औषधी पुनः विक्री गर्ने गरेको पाइएको थियो ।
फोटो छ ।