- कृष्ण विदुखी गौतम
तेह्रथुम / आत्महत्या दुरूत्साहन’ को आरोपमा २७ दिन अघि पक्राउ परेका तेह्रथुमको लालीगुरा“स नगरपालिका शिक्षा शाखामा कार्यरत रामकृष्ण निरौला ९० हजार रुपैंया धरौटीमा तारेखमा छुटेका छन् ।
निरौलालाई आगामी साउन २६ गते अदालतमा हाजिर हुने गरी ९० हजार रुपैंंया धरौटी रकम लिएर दुई दिन अगाडी छाडिएको जिल्ला अदालत तेह्रथुमका श्रेष्तेदार पारशमणी पोखरेलले जानकारी दिएका छन् ।
लालीगुराँस नगरपालिका ८ सोल्माका ३४ बर्षीय कुवेर दाहाललाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा निरौला विरुद्ध गत जेठ २९ गते प्रहरीमा किटानी जाहेरी परेको थियो । निरौलालाई पछिल्लो समय लालीगुराँस नगरपालिकाले नगर शिक्षा शाखामा काम गर्ने गरी खटाएको थियाे ।
मृतकको परिवारको तर्फबाट उनका दाजु खेमप्रसाद दाहालले इलाका प्रहरी कार्यालय बसन्तपुरमा निरौला विरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए । दाहाल गत जेठ २९ गते विहान रुखमा झुण्डीएको अवस्थामा फेला परेका थिए । स्थानीय एक कृषि सहकारी संस्थाको व्यवस्थापक रहेका दाहाल र निरौला विच गत जेठ २८ गते बेलुकी भएको टेलीफोन संवादमा दाहाललाई विभिन्न आरोप लगाउदै निरौलाले कालोवजारी गरेको आरोपमा १० बर्ष जेल हालीदिने भन्दै धम्की दिएको मृतकका दाजु खेम प्रसादले प्रहरीमा दर्ता गराएका थिए ।
उक्त सहकारीले अनुदानको रासायनिक मल ल्याएर आफ्नो वडा भन्दा बाहिरका किसानलाई विक्री गरेको मृतकमाथि आरोप थियो । सोही विषयमा निरौलाले पदको दुरुपयोग गदैें दाहाललाई मानसिक रुपमा दवाब दिएको भन्ने जोहेरी पत्रमा उल्लेख थियो । निरौलालाई २३ दिन थुनामा राखि धरौटीमा छाडेको हो ।