विराटनगर/ सीमा क्षेत्रमा बसेर तस्करी धन्दा चलाउने विराटनगर–१५ का ३९ वर्षीय रामजी मण्डललाई प्रहरीले पक्राउ गरेको छ । मण्डललाई प्रहरीले शुक्रबार राति विराटनगरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका मण्डलले लामो समयदेखि नेपाल–भारत सीमाक्षेत्रमा रहेर मरिच, मटर, राजनीगन्धालगायत सामग्रीको तस्करी गर्ने गरेको आरोप छ । मरिच र मटर भारतर्फ र रजनीगन्धा नेपालतिर तस्करी गर्ने गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले नेपालबाट भारततर्फ तस्करी गर्दै गरेको अवस्थामा १४ असारमा विराटनगर–१६ दरैयाबाट ठूलो परिमाणको मटर बरामद गरेको थियो ।

२ हजार चार सय २५ किलो मटर लोड गरिएको को.१ त ६२१९ नम्बरको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तस्करी गरी ल्याएको मटर प्रहरीले बरामद गरेपछि मण्डल फरार भएका थिए । बरामद भएको उक्त मटर तस्करीमा मण्डलको संलग्नता रहेको प्रहरीको दाबी छ ।

त्यसबेलामा ड्युटीमा खटिएका महिला प्रहरीलाई अपशब्द प्रयोग गरी मण्डल फरार भएको प्रहरीले जनाएको छ । ती महिला प्रहरीले मोरङ प्रहरीमा अभद्र व्यवहारमा जाहेरी दिएकी थिइन् । प्रहरीमा जाहेरी परेपछि मण्डल फरार थिए । फरार रहेका मण्डललाई इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापा नेतृत्वको टोलीले पक्राउ गरेको हो । मण्डलले तस्करी नियन्त्रणमा खटिएका प्रहरीलाई अन्यत्र सरुवा गरिदिने र जागिरसमेत खाइदिने भन्दै धम्की दिँदै आएका थिए ।

फरार भएका मण्डललाई पक्राउ गरी अनुसन्धान शुरू गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । सीमा क्षेत्रबाट हुने अवैध धन्दा निमिट्यान्न पार्ने हिसाबमा प्रहरीले काम अगाडि बढाएको उनको भनाइ छ । शुक्रबार राति पक्राउ परेको र शनिबार सार्वजनिक बिदा हुने भएकोले प्रहरीले मण्डललाई आज (आइतबार) म्याद थप गर्ने तयारी गरेको छ ।