सिरहा /  सिरहामा सशस्त्र प्रहरी जवान मनोहरकुमार यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान यादवको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरी बिहीवार प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा सिरहा नगरपालिका–३ मखनाहाका २५ वर्षीय जवकेश कुमार यादव, सोही ठाउँका २० वर्षीय मंगला भन्ने दिपेशकुमार यादव र २२ वर्षीय बुलना भन्ने मुकेशकुमार यादव रहेका छन् ।
असार १६ गते सिरहा नगरपालिका वडा नं.१४ खिरौनास्थित रहेको नहरको पानीमा उनीहरुले सशस्त्र प्रहरी जवान यादवको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको २ नम्बर प्रदेशका प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताए ।

‘एक विवाहमा भएको सामान्य विवादको क्रममा चोर–चोर भन्दै ३ किलोमिटरसम्म लखेटेर जवान यादवको हत्या गरेको पाइएको छ ।’ –डीआईजी सिंहले भने–‘उनीहरुलाई प्रदेश प्रहरी कार्यालयको टोली र जिल्ला प्रहरी कार्यालय सिरहको संयुक्त टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनामाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकृत(डिएसपी) विनोद घिमरेले जानकारी दिएको छ ।