भद्रपुर । खनिएको पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको छ । निर्माण कम्पनीको लापरबाहीले बालकको डुबेर मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् । भद्रपुर नगरपालिका– २ पृथ्वीनगर स्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृत्यु हुनेमा भद्रपुर–२ डिगाउँ बस्ने अनिल तामाङको १० वर्षका छोरा अङकुश तामाङ, साबिक गरामनि गाविस हाल भद्रपुर–२ बस्ने कमला थामीका दुई जना छोरा अन्दाजी १४ र १२ वर्षका करण र अर्जुन थामी रहेको जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिए । बुधबार दिउँसो कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा माछा मार्न र पौडी खेल्न उनिहरु गएका थिए ।

घरमा कसैलाई नभनी गएका तीन जना बालक साँझ अबेरसम्म घर नफर्किएपछि आफन्तजनले खोजी गरेका थिए । खोजी गर्ने क्रममा बुधबार साँझ साढे ७ बजेको समयमा बालक तामाङको शव पोखरीमा तैरिरहेका अवस्था फेला परेको थियो । पोखरीमा बालक तामाङको शव फेला परेपछि अन्य दुई बालकको पनि प्रहरी र स्थानीयले खोजी शुरु गरेका थिए ।

प्रहरी कार्यालय झापाबाट खटिएको विपतका प्रहरी टोलीले बिहीबार बिहान थामी दाजु भाइको शव त्यही पोखरीबाट पुरिएको अवस्थामा फेला पारेको डिएसपी थापाले जानकारी दिए । मृतक तामाङ एसियन स्टार बोडिङ स्कुल र थामी दाजुभाइ सगरमाथा माविमा अध्ययनरत थिए । बालकको मृत्यु भएसँगै गाउँ नै शोकमा डुबेको छ ।

घट्नापछि पीडितका आफन्तजन र स्थानीयले आक्रोश पोखेका छन । भद्रपुर नगरपालिका, कमलधाप पर्यटन क्षेत्र विकास समिति र निर्माण कम्पनीको लापरबाहीले तीन जना बालकको ज्यान गएको मृतक तामाङ्का काका आषिश तामाङले आरोप लगाए । पोखरी निर्माण गर्नेक्रममा कुनै आधारभूत मापदण्ड पूरा नगरेका कारण दुर्घटना हुन पुगेको उनले जनाए । निर्माण कम्पनीले कम्तीमा सुरक्षाको मापदण्ड नपनाएका कारण यस्तो दूरर्दशा भएको स्थानीय फागू सुब्बाको आरोप छ ।

निर्माण कम्पनीको लापरबाहीले नै गाउँमा यस्तो ठूलो घटना भएको उनको भनाइ छ । पोखरी निर्माणमा समेत अनियमिता भएको उनले आशङ्का गरे । समिति तथा निर्माण कम्पनीले सुरक्षा गर्ने मानिस नराखेर चरम लापारबाही गरेको उनले बताए । तामाङ्को पोष्टमार्टमका लागि भद्रपुर स्थित मेची अस्पतालमा राखिएको छ भने अन्यको स्थानीयले शव उठाउन दिएका छैनन ।
कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणका लागि भद्रपुर नगरपालिकाले ठेक्का लगाएको हो ।

निर्माण कम्पनी आर.एन्ड.सी नयाँ युग जेभीले ४ करोड ३८ लाख ३ हजार ५ सय ७९ रुपैयाँमा २०७८ साल असार २४ गतेसम्म सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो ।