धरान/ कोरोना महामारीका कारण परीक्षा हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ ।
विद्यालयको आन्तरिक मूल्याङ्कनको आधारमा नतिजा सार्वजनिक भएको हो । सरकारले कक्षा १० को विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ बनाएको थियो । सोही कार्यविधिका आधारमा विद्यालयहरूले मूल्याङ्कन गरेका थिए ।
शिक्षा विकास तथा समन्वय इकाईहरूबाट प्रमाणित भई आएको विद्यार्थीहरूको प्राप्ताङ्कलाई सङ्कलन, रुजु र ग्रेडिङ गरी नतिजा प्रमाणीकरण गरिएको राष्ट्रिय परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
यसवर्ष सार्वजनिक गरिएको नतिजामा जीपीएको विवरण भने खुलाइएको छैन भने पुनर्योग तथा ग्रेडवृद्धि परीक्षा पनि हुने छैन । यस वर्ष कुल ४ लाख ८२ हजार ९ सय ८६ विद्यार्थीले आवेदन भरेका थिए । त्यसमध्ये विद्यालयहरूबाट परीक्षाका लागि योग्य ४ लाख ७२ हजार ७८ जना विद्यार्थीहरूको प्रमाणित प्राप्ताङ्क विवरण प्राप्त भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।