विजयपुर/कोरोना भाइरसबाट प्रभावित बनेको सिकाइलाई केही सहज बनाउन किरातेश्वर माध्यमिक विद्यालयका ५० जना विद्यार्थीलाई मोबाइल फोन प्रदान गरिएको छ ।

सोमबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देउमान ताप्मादेनले कक्षा ६ देखि १० सम्मका ५० जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई मोबाइल वितरण गरेका हुन् । स्कुलले प्रतिगोटा १२ सय रुपैयाँ मूल्य पर्ने कुल ६० हजार रुपैयाँको मोबाइल फोन वितरण गरेको हो । अमेरिकामा बस्दै आएका लीला राईले आर्थिक सहयोग प्रदान गरेका हुन् । राईले भिडियो कन्फरेन्सबाट विद्यार्थी भोलिका देशको कर्णधार भएकाले शैक्षिक सामग्रीको अभावमा सिकाइबाट बञ्चित हुन नपरोस् भनेर सहयोग गरेको बताए ।

कोभिड–१९ को असरलाई मध्यनजर गर्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले असारदेखि रेडियो, टेलिभिजन, इन्टरनेटलगायतका वैकल्पिक विधि अपनाई दूरशिक्षाबाट पठन–पाठन शुरु गरेको छ । वैकल्पिक विधिबाट हुने सिकाइलार्ई थप प्रभावकारी बनाउन रेडियो सुन्न सकिने मोबाइल वितरण गरिएको विद्यालयका प्रधानाध्यापक योगेन्द्र पालुङ्वाले बताए । उनले विद्यार्थीलाई मोबाइल फोन दुरुपयोग नगर्न आग्रह गरे । परीक्षणका लागि पनि ५० जना विद्यार्थीको सिकाइको आधारमा थप कार्यक्रम ल्याउने बताए ।

मोबाइल पाएका कक्षा ६ मा अध्ययनरत छात्र रेमण्ड योगीले घरमा रेडियो, टेलिभिजन, मोबाइल र इन्टरनेट नभएको अवस्थामा मोबाइल पाउँदा खुसी व्यक्त गरे । अब मोबाइलमा बज्ने रेडियोबाट पढाइलाई निरन्तरता दिन पाउने भएकोमा खुसी व्यक्त गरे । त्यस्तै कक्षा ७ मा अध्ययनरत छात्रा अर्चिता राजधामीले मोबाइलबाट हुने सिकाइले पढाइलाई थप बल पुग्नेमा आशा व्यक्त गरिन् ।

कार्यक्रममा राष्ट्रियस्तरका नेपाल टेलिभिजन, रेडियो नेपाल, कान्तिपुर एफएम र धरानबाट गणतन्त्र, विजयपुर र दन्तकालीलगायत एफएममा फरक–फरक समयमा विद्यार्थीका लागि रेडियो सिकाइ कार्यक्रम सञ्चालन भइरहेको पनि जानकारी दिइएको थियो । कोभिड– १९ का कारण विद्यालय बन्द भएपछि सरकारले दूरशिक्षामा ठूलो लगानी गरेर सञ्चालन गरेपनि प्रभावकारिता भने कम रहेको छ ।

हालसालै युनिसेफले गरेको एक अध्ययनका अनुसार दुईतिहाइ भन्दा बढी बालबालिका दूरशिक्षाबाट बञ्चित रहेका छन् । युनिसेफले बालबालिका तथा परिवारबारे गरेको अध्ययन प्रतिवेदनअनुसार स्कुल जाने १० मध्ये ३ बालबालिकाको मात्रै टेलिभिजन, रेडियो र इन्टरनेटमा आधारित सिकाइमा पहुँच रहेको बताएको छ । युनिसेफका अनुसार दूरशिक्षामा चासो भए पनि उपलब्धि भने न्यून रहेको छ ।